गान्तोक, 14 दिसम्बर। सिक्किमकी एक प्रतिष्ठित पर्वतारोही मनीता प्रधानले ऐतिहासिक माइलखुट्टी हासिल गर्दै एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफ सफलतापूर्वक आरोहण गरेकी छन्। यस उपलब्धिका साथै उनले भारतीय पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेकी छन् भने विश्वप्रसिद्ध ‘सेभेन समिट्स’ चुनौती पूरा गर्नबाट केवल एक शिखर टाड़ा रहेकी छन्। माउन्ट भिन्सन मासिफ अभियान पर्वतारोही प्रधानको महत्वाकांक्षी ‘प्रोजेक्ट सेभेन समिट्स’ को महत्वपूर्ण हिस्सा हो, जसअन्तर्गत उनले सात महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने लक्ष्य लिएकी छन्। माउन्ट भिन्सनको सफल आरोहणसँगै उनले अहिलेसम्म छवटा महादेशका सर्वोच्च शिखरहरू आरोहण गरिसकेकी छन्। अब केवल अष्ट्रेलियाको माउन्ट कोसिउस्को आरोहण बाँकी रहेको छ।पर्वतारोही प्रधानले १ दिसम्बर, २०२५ मा राजधानी गान्तोकबाट आफ्नो अभियान शुरु गरेकी थिइन्। उनले आफ्नो महत्वकांक्षी सपनालाई साकार पार्न न्युयोर्क, पुन्टा एरेनास र एन्टार्कटिकाको प्रमुख पर्वतारोहण आधार शिविर युनियन ग्लेशियर क्याम्प हुँदै माउन्ट भिन्सन बेस क्याम्पसम्मको लामो अन्तरराष्ट्रिय यात्रा गरिन्। यसपछि, १० दिसम्बर, २०२५ मा बेस क्याम्पबाट शिखरतर्फको अन्तिम आरोहण शुरू भयो। –३१ डिग्री सेल्सियससम्मको तापक्रम, तीव्र हावा र ठाड़ो ढलानहरूले आरोहणलाई अत्यन्त कठिन बनाएको थियो यद्यपि, पर्वतारोही प्रधानले अद्भुत सहनशीलता, टीम वर्क र दृढ़ संकल्प प्रदर्शन गरिन्।कयौँ दिनको कठोर संघर्षपछि उनले विश्वकै सबैभन्दा चिसो महादेशमा रहेको माउन्ट भिन्सन मासिफको शिखर १२ दिसम्बर, २०२५ को राति ८:३० बजी (स्थानीय समय) सफलतापूर्वक छोइन्। यस उपलब्धिसँगै उनी एन्टार्कटिकाको सर्वोच्च शिखरमा पुग्ने थोरै भारतीय महिलामध्ये एक बनेकी छन्। बेस क्याम्पमा पर्वतारोही प्रधानले सिक्किमको ५०औँ राज्य स्थापना वर्षको स्मृतिमा तयार गरिएको झण्डा फहराइन्। यसले आफ्नो मातृभूमिप्रति उनको गहिरो सम्मान र गर्व झल्काउँछ।उनले आफ्नो पर्वतारोहण यात्रामा निरन्तर प्रोत्साहन र समर्थन प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। साथै, उनले आफ्नो परिवार, साथीभाई तथा शुभेच्छुकहरूलाई पनि निरन्तर हौसला र विश्वासका लागि धन्यवाद दिएको सिक्किम भेट्रन्स माउन्टेनियरिङ एसोसिएशनका सदस्य बब्बू तामाङले जानकारी गराएका छन्।बब्बू तामाङले भने, १२ दिसम्बर, २०२५ मा माउन्ट भिन्सन मासिफको सफल आरोहण पर्वतारोही मनीता प्रधानका लागि मात्र होइन, सिक्किम र सम्पूर्ण भारतका लागि गर्वको विषय हो। ‘सेभेन समिट्स’ परियोजनाअन्तर्गत यो उनको छैटौँ सफल आरोहण हो, अब केवल अष्ट्रेलियाको अन्तिम शिखर जित्न बाँकी छ। आफ्नो साहस, समर्पण र अटुट इच्छाशक्तिका माध्यमबाट प्रधानले विशेषगरी युवा महिला पर्वतारोहीहरूलाई आफ्नो सपना पछ्याउन र सीमाहरू तोड्न प्रेरित गरिरहेकी छन्।


