गान्तोक, 03 मार्च। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक विशेष समन्वय सभा आज पाकिम जिल्लाको रम्फू जोनल कार्यालयमा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको उक्त सभामा पार्टीका केन्द्रिय नेतृत्वहरू, समष्टि अध्यक्ष लगायतका सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै सीएपी अध्यक्ष गणेश राईले संगठन विस्तारलाई सशक्त बनाउने दिशामा सबै सदस्यहरूको सक्रिय योगदानको आवश्यकता रहेको बताए। उनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी अनुशासन, प्रतिबद्धता र संघर्षलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘हाम्रो विचारधारा विपरीतका शक्तिहरूसँग लड्न हामी अझै बलियो हुनुपर्छ। समग्र सिक्किमका जनताको भविष्यलाई सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक छ।’
अध्यक्ष राईले भने, ‘हामी राज्यको प्रमुख विपक्षी पार्टीको रूपमा निरन्तर संघर्षरत छौं। अबको यात्रामा इमानदारी, समर्पण, त्याग र संगठन विस्तारको अभावमा सफलता सम्भव छैन। त्यसैले, हामी गाउँ-गाउँ पुग्नुपर्छ, जनताको समस्याहरू बुझ्नुपर्छ र निरन्तर संवादमा रहनुपर्छ।’
सभाको शून्य समयमा उपस्थित नेताहरूले आ-आफ्ना विचार प्रस्तुत गर्दै संगठन सुदृढीकरणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकाले। सभाको क्रममा विभिन्न नेताहरुलाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारीसम्बन्धी नयाँ कार्यालय आदेश समेत प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
सीएपी सिक्किमले आगामी दिनहरूमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि, तथा सरकारको जनविरोधी नीतिहरूको विरोधलाई अझ सशक्त बनाउने निर्णय गरेको बताइएको छ।

Leave a comment