सीएपी सिक्किम युवा परिषदको मल्लीडॉंडामा महत्वपूर्ण बैठक आयोजित, युवा अभिमुखिकरण आयोजन गर्ने निर्णय
गान्तोक, 10 फरवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सोमवार पार्टीको युवा परिषदको बैठक सम्पन्न भयो। दक्षिण सिक्किमको मल्लीडॉंड़ामा आयोजित बैठकमा युवा परिषद्का सदस्यहरूको सक्रिय सहभागिता देखिएको बताइएको छ।
बैठक युवा कल्याण र समाजको समग्र विकासको लागि समावेशी वातावरण निर्माणमा युवाहरूको रचनात्मक भूमिका सम्बन्धी मुद्दाहरूमा केन्द्रित रहेको सीएपीले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। बैठकमा युवाहरूले सामना गरिरहेका चुनौतीहरूमाथि छलफल गरिनुका साथै युवाहरूलाई जागरूकता, जिम्मेवारी र सामूहिक कार्य मार्फत सशक्त बनाउने आवश्यकतामा जोड दिइयो।
बैठकमा पार्टीको तर्फबाट युवा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने विषयमा चर्चा गरियो। उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई सीएपी सिक्किमको सिद्धान्त, विचारधारा र दृष्टिकोणबारे शिक्षित गर्नु रहेको बताइएको छ, जसले गर्दा उनीहरूलाई राज्य र राष्ट्रको सेवा अझ बढी जानकारीपूर्ण, अनुशासित र प्रभावकारी ढंगले गर्न सक्षम बनाउने छ।
बैठकमा सिक्किमका युवाहरूलाई लोकतान्त्रिक प्रक्रियाहरूमा सक्रिय रूपमा भाग लिन र लोकतान्त्रिक मूल्यहरूलाई कायम राख्न आह्वान गरिएको बताइएको छ। यसैगरी, कार्यकर्ताहरूलाई सबै प्रकारका हिंसाबाट टाडा रहन, शान्ति, सद्भाव र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्न जोड दिइयो। युवा परिषद्ले सिक्किममा सामाजिक प्रगति, सुशासन र दिगो विकासमा अर्थपूर्ण योगदान दिन सक्ने जिम्मेवार, सचेत र सशक्त युवाहरू तयार गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।
Leave a comment


