
गान्तोक, २६ सेप्टेम्बर । एसकेएम पञ्चायत प्रकोष्ठकी उपाध्यक्ष प्रभारी तथा विधायक कला राईले तुमिन-लिङ्गी समष्टिका वर्तमान तथा भूतपूर्व पञ्चायतहरूलाई सम्बोधन गरेकी छन्। प्रकोष्ठले धारावाहिक रूपमा आयोजना गर्दै आएको ‘पञ्चायत परामर्श अभियान’ लाई निरन्तरता दिँदै विधायक राई आज तुमिन-लिङ्गी पुगेकी हुन्।
पाटुक-सिङ्बेल जीपीयूको सभाकक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतहरूका समस्या, गुनासा र सल्लाह- सुझाउ सुनिन्। खुल्ला विमर्शमा उनीहरूले राखेका कुराहरूलाई आफ्नो सम्बोधनबाट क्रमैले सम्बोधन गरिन्। उनले पञ्चायतहरूलाई जिम्मेवार जनप्रतिनिधिका रूपमा व्याख्या गर्दै पञ्चायतहरूको दायित्व सम्झाइन्। यस क्रममा विधायक राईले आगामी पञ्चायत चुनाउ दलगत तवरमा गर्ने जानकारी गराइन्।
आफ्नो सम्बोधनमा सभाध्यक्ष तथा क्षेत्र विधायक साम्डुप भोटियाले पञ्चायतीराज प्रणालीको संक्षिप्त व्याख्या गरे। उनले पञ्चायतहरूका लागि कोष व्यवस्थापनबारे पनि स्पष्ट जानकारी गराए। उनले प्रत्येक कुरालाई राजनीतिसँग जोड्नु नहुने र सम्बन्ध कायम राख्नुपर्ने धारणा राखे। पूर्व पञ्चायतहरूलाई सुविधा उपलब्ध गराउन पहल भइरहेको अवगत गराउॅंदै उनले पञ्चायत कल्याण बोर्ड गठन गर्ने तयारी भइरहेको बताए।
कार्यक्रममा जिल्लाध्यक्ष बलराम अधिकारी, एसकेएम साङ्गठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चा, पञ्चायत प्रकोष्ठका राज्य अध्यक्ष बाल गोविन्द रसाइली, महासचिव अशोक गुरुङलगायत पार्टीका शीर्षस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


