गान्तोक, ०७ अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा सिक्किमका जनता तथा राज्य सरकारको तर्फबाट प्रधानमन्त्री मोदीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिँदै ७ अक्टोबर, २००१ मा गुजरातको मुख्यमन्त्रीको पद सम्हालेदेखि भारतको प्रधानमन्त्रीसम्मको उनको यात्रा निःस्वार्थ सेवा, सुशासन र राष्ट्र निर्माणप्रतिको अटल प्रतिबद्धताको प्रतिबिम्ब रहेको बताएका छन्।
उनले प्रधानमन्त्री मोदीको २५ वर्षको समर्पित सार्वजनिक सेवाले लाखौँ मानिसलाई प्रेरित गरेको तथा ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ को भावनालाई सुदृढ बनाएको उल्लेख गरेका छन्। साथै, प्रधानमन्त्री मोदीको ‘विकसित भारत’ र ‘एक भारत, श्रेष्ठ भारत’ को परिकल्पनाले निरन्तर राष्ट्रलाई प्रेरित गरिरहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले समृद्ध विविधता, सम्पदा तथा अपार सम्भावना बोकेको उत्तर-पूर्वी क्षेत्रको विकासप्रति प्रधानमन्त्री मोदीको ध्यान र चासोले यस क्षेत्रको सम्पर्क सञ्जाल, समग्र विकास तथा राष्ट्रिय विकास यात्रासँगको एकीकरणलाई नयाँ गति दिएको बताएका छन्।
सिक्किम र सिक्किमका जनताप्रति प्रधानमन्त्री मोदीबाट निरन्तर प्राप्त सहयोग, मार्गदर्शन, स्नेह तथा आशीर्वादका लागि राज्यका जनता र सरकार गहिरो रूपमा कृतज्ञ रहेको पनि उनले बताएका छन्।
मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीको निरन्तर सुस्वास्थ्य, शक्ति तथा दीर्घायुको कामना गर्दै राष्ट्रलाई अझ बढी प्रगति, समृद्धि, शान्ति तथा विश्वस्तरीय नेतृत्वतर्फ मार्गदर्शन गरिरहन शुभकामना व्यक्त गरेका छन्।
Leave a comment


