
गान्तोक, 12 अक्टोबर। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्लाको छोटा साम्दोङमा युमा माङहिमको उद्घाटन गरेका छन्।मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत यस अवसरमा सहभागी हुन पाउनुलाई सौभाग्यको विषय बताउँदै युमा माङहिमलाई समृद्ध सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र सामूहिक आस्थाको प्रतीकका रूपमा वर्णन गरेका छन्।उनले यो पवित्र स्थल आगामी पुस्तासम्म आस्था, शान्ति, एकता र आध्यात्मिक मार्गदर्शनको केन्द्रका रूपमा स्थापित रहिरहने विश्वास व्यक्त गरेका छन्।यस अवसरमा मुख्यमन्त्री तामाङले पूज्य फेधाङमाहरूबाट आशीर्वाद ग्रहण गरेका थिए। उनीहरूको उपस्थिति र आशीर्वादले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको उल्लेख गर्दै उनले पुर्ख्यौली परम्परा, मूल्य-मान्यता र आध्यात्मिक पहिचानको संरक्षण गर्नुको महत्त्वसमेत स्मरण गरेका छन्।


