गान्तोक, 10 फरवरी। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवनमा नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी (एनआईटी), देवरालीको कार्यकारी बोर्ड र साधारण परिषदको बैठकको अध्यक्षता गरे। राज्यपाल माथुर एनआईटी देवरालीका अध्यक्ष पनि हुन्।
बैठकमा राज्यपालका सचिव जितेन्द्रसिंह राजे, संस्कृति विभागका सचिव बीके लामा, उच्च शिक्षाका सचिव छेवाङ ग्याछो, एनआईटीका निदेशक डा. पासाङ डी. फेम्पू, स्वास्थ्य विभागका प्रधान निदेशक डा. डीसी शर्मा, वित्त विभागका प्रधान निदेशक राजेन्द्र शर्मा लगायत सीएचआईटीएस वाराणसीका उप कूलपति, उच्च शिक्षा, ग्वालियरका ओएसडी, सिक्किम विश्वविद्यालयका प्रतिनिधि, एनआईटीका अधिकारीहरू आदि उपस्थित थिए।
बैठकमा राज्यपालले एनआईटीलाई एक महत्वपूर्ण संस्था बताउॅंदै यसको शैक्षिक ढाँचालाई सुदृढ पार्न युजीसी निर्देशिका अनुसार सहायक प्राध्यापक जस्ता शैक्षिक पदहरू सिर्जना गर्न सुझाउ राखे। उनले संस्थामा शैक्षिक पदहरू सिर्जना गर्न वित्त समितिलाई निर्देशन दिए। राज्यपालले एनआईटी परिसरमा आगामी 30 बेडको सोवा रिग्पा अस्पतालको बारेमा पनि छलफल गरे र आवश्यकता अनुसार कर्मचारीहरूको आवश्यक नियुक्ति गर्न आग्रह गरे।
यस अघि एनआईटीका निदेशक डा. फेम्पूले राज्यपालप्रति कृतज्ञता व्यक्ति गर्दै संस्थानको बारेमा विस्तृत जानकारी गराए। बैठकमा संस्थानका विभिन्न विषयहरूमाथि चर्चा गर्दै निर्णयहरू लिएको बताइएको छ।

Leave a comment