खरसाङ, 11 फरवरी। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लक्ष्य अझै धेरै लामो छ। हामीले अझ धेरै काम गर्नुछ। उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले मंगलवार खरसाङमा सम्पन्न समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्। उनले विभिन्न समष्टिहरुबाट समर्थन गर्न आएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, तपाईहरुले भागोप्रमो पार्टीलाई बाहिरबाट हेर्नु भएको छ। तर अब भित्रबाट हेर्नु हुनेछ। हामीले सबै कुराहरु सहेर अनि कसैलाई केही नभनी काम गर्दै जानुपर्छ।’
उनले भने, हाम्रो यात्रा 2017 देखि हो र हाम्रो यात्रा सजिलो छैन, गाह्रो छ। तर पनि हामीले पहाड बनाउँदै गइरहेका छौं। हामीले कसैलाई नराम्रो नभनी र गाली नगरी काम गर्दै जानुपर्छ।’
अनित थापाले अझ भने, अगुवा भएपछि शिक्षित हुन आवश्यक छ। समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्ग दर्शन गर्नसक्छ। लिडर भएपछि उपलब्धि हुनुपर्छ। चिच्चाई चिच्चाई भाषण दिएर मात्रै हुँदैन, उपलब्धि छैन भने। पहाडमा लिडरहरुमा उपलब्धि केही छैन। हामीले हाम्रो पालोमा लामो समयपछि पहाडमा पञ्चायतिराज फर्काएर ल्याएका छौँ। यो हाम्रो लागि ठूलो उपलब्धि हो।’
उनले भने, ‘बिजनबारी क्षेत्रको बाटो पहिले कस्तो थियो अनि मरमत्तिपछि कस्तो भएको छ। त्यसरी नै तामसाङ क्षेत्रको बाटोको लागि 6-7 करोड पारित भएको छ र म आफै आएर त्यो काम पूरा गर्नेछु। हामीले कम्ती समयमा पहाडमा धेरै बाटोहरु निर्माण कार्य गरेका छौँ। हाम्रो कार्य र हाम्रो विचारलाई मन पराएर समर्थन गर्न आउनु भएको छ र म तपाईहरुको विचारलाई अन्त्यसम्म साथमा रहेर कार्य गर्नेछु।’ थापाले भने, ‘राम्रो विचारले काम गर्दा पहाड राम्रो भएर जान्छ। हामीलाई चाहिएको विकास हो। विकासको लागि हामी अघि बढेका छौं। गाउँ विकास भए घर र परिवार पनि विकास हुन्छ। म सजिलो मान्छे हुँ। मलाई भेट्नु कुनै एपोइन्टमेन्ट लिनु पर्दैन। जहिले भेट्दा पनि हुन्छ। सबैले भेटेर आफ्नो समस्याहरु राख्न सक्नु हुनेछ। म आफै पनि तपाईहरुलाई भेट्न गाउँ घरतिर आउनेछु। सबैको समस्या बुझेर समाधान गर्नेछु।

Leave a comment