मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार बिहान रिनाक निर्वाचन क्षेत्रको फरेस्ट बङ्गलोमा आफ्नो दोस्रो दिनको जनता भेट कार्यक्रम शुरू गरेका छन्। हिजो प्रथम दिन उनले पदम्चे माध्यमिक विद्यालयमा विभिन्न ग्राम पञ्चायत एकाईका जनतासॅंग भेट गरेका थिए।
दोस्रो दिनको जनता भेट कार्यक्रम अवधि छलमथाङ पाचेखानी जीपीयूको रोडाथाङ वार्डलगायत रिनाक जीपीयू र तारपिन जीपीयूका जनताले मुख्यमन्त्रीसॅंग भेट गरिरहेका छन्। यस क्रममा जनताले राखेका आफ्ना आवश्यकता र चिन्ताहरूलाई मुख्यमन्त्रीले तत्काल सम्बोधन गरेर राहत पुऱ्याउने कार्य गरिरहेका छन्।
मुख्यमन्त्री तामाङले फरेस्ट बङ्गलो परिसरमा उपस्थित जनतालाई सम्बोधन पनि गरे। उनले रिनाक निर्वाचन क्षेत्रमा प्रत्येक छ महिनामा तीन दिने जनता भेट कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्। उनले एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाकमा तीन दिवसीय जनता भेट कार्यक्रम आयोजना गर्ने घोषणा गरेको अवगत गराए। सोही वचन अनुरुप हिजोदेखि तीन दिवसीय कार्यक्रम शुरू गरिएको उनले बताए।
उनले रिनाकपछि अन्य निर्वाचन क्षेत्रहरूमा पनि जनता भेट कार्यक्रम आयोजना गरिने जानकारी गराए। मुख्यमन्त्रीले हिजो पहिलो दिन बिहान 9 बजीदेखि सॉंझ 7 बजीसम्म 1100 भन्दा धेरै जनतासॅंग भेट गरेको जानकारी गराए।


