गान्तोक, 05 अगस्त। पैह्रोका कारण लामो समयदेखि अवरुद्ध बनेको 20 माइल सडक खण्डको स्थलगत निरीक्षण गर्न आज सडक तथा पुल विभागका मन्त्री एनबी दाहाल प्रभावित क्षेत्रमा पुगे। जनसुविधालाई उच्च प्राथमिकतामा राख्दै मन्त्री दाहालले हिलो र लेदोको समेत पर्वाह नगरी जोखिमपूर्ण सडक खण्डको निरीक्षण गर्दै क्षतिको विस्तृत जायजा लिए। निरीक्षणका क्रममा मन्त्री दाहाल नेतृत्वको टोलीले हाल वैकल्पिक रूपमा सञ्चालनमा रहेको डुगा सडक मार्गको पनि अवलोकन गरे। साथै मामरिङ पुल हुँदै आदर्श गाउँ जोड्ने सडकलाई तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई स्पष्ट र कडा निर्देशन दिएका छन्। मन्त्री दाहालले आगामी आमा सम्मान दिवसमा व्यापक सङ्ख्यामा सर्वसाधारणको सहभागिता अपेक्षित रहेकाले 20 माइल, डुगा वैकल्पिक मार्ग तथा मामरिङ-आदर्श गाउँ सडक खण्डलाई यथाशीघ्र सञ्चालनमा ल्याउन कुनै ढिलाई नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनअनुसार राष्ट्रिय राजमार्गलाई शीघ्र सञ्चालनमा ल्याउने उद्देश्यसहित एनएचआईडीसीएल र राज्यको सडक विभागलाई युद्धस्तरमा काम अघि बढाउन तथा आगामी दुई दिनभित्र सडक यातायात सुचारु गर्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री दाहालले कडा निर्देशन दिएका छन्। सरकारले जनताको आवागमन सहज, सुरक्षित र निर्बाध बनाउन आवश्यक सबै स्रोत साधन परिचालन गरी सडक सञ्चालनलाई उच्च प्राथमिकताका साथ अघि बढाउने मन्त्री एनबी दाहालले सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।


