गान्तोक, 16 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गुवाहाटीमा आयोजित उत्तरपूर्वी क्षेत्रमा नयाँ आपराधिक कानुनको कार्यान्वयन सम्बन्धी एक महत्वपूर्ण बैठकमा भाग लिए। बैठकको अध्यक्षता केन्द्रिय गृहमन्त्री अमित शाहले गरेका थिए। मुख्यमन्त्रीले सिक्किम सरकार र जनताको तर्फबाट केन्द्रिय गृहमन्त्रीलाई उनको अमूल्य मार्गदर्शन र संरक्षणको लागि हार्दिक आभार व्यक्त गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा आयोजित यस बैठकले उत्तरपूर्वी राज्यहरूमा तीन नयाँ आपराधिक कानुनको कार्यान्वयनको मूल्याङ्कन गर्न एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा बताएका छन्।
बैठकमा सिक्किमका मुख्य सचिव आर. तेलाङले यस परिवर्तनकारी कानुनी संक्रमणमा सिक्किमको उपलब्धि, तयारी र चुनौतीहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गरे।
मुख्यमन्त्रीले चीन, नेपाल र भुटानसँग अन्तरराष्ट्रिय सीमा साझा गर्ने सीमावर्ती राज्यको रूपमा सिक्किमले राष्ट्रिय सुरक्षालाई आफ्नो शासनको प्राथमिकताहरूको अग्रभागमा राखेको बताएका छन्। उनले सिक्किम सरकार कानुन प्रवर्तनलाई सुदृढ पार्न, न्यायिक दक्षता बढाउन र बलियो सुरक्षा उपायहरू सुनिश्चित गर्नका लागि फोरेन्सिक क्षमताहरू बढाउन दृढ प्रतिबद्ध रहेको बताएका छन्।
उनले सिक्किम रणनीतिक स्थानलाई ध्यानमा राख्दै सीमा निगरानीलाई सुदृढ पार्ने, खुफिया पूर्वाधार सुधार गर्ने र राज्य र राष्ट्रिय हित दुवैको रक्षा गर्न कानुन प्रवर्तन एजेन्सीहरूलाई अत्याधुनिक प्रविधिले सुसज्जित गर्ने कुरामा केन्द्रित रहेको बताए। यी सुधारहरूको निर्बाध कार्यान्वयन सुनिश्चित गर्न धेरै पहलहरू पहिले नै शुरु भइसकेको पनि उनले जानकारी गराएका छन्।
सिक्किमले आफ्नो पुलिस बललाई आधुनिकीकरण गर्ने, नयाँ आपराधिक कानुनहरू लागू गर्ने र राष्ट्रिय सुरक्षा र महिला सुरक्षालाई प्राथमिकता दिने कुरामा उल्लेखनीय प्रगति गरेको उनले जानकारी गराएका छन्। उनले निरन्तर तालिम, प्राविधिक स्तरोन्नति र रणनीतिक सहकार्यका साथ राज्य आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न तयार रहेको बताएका छन्। मुख्यमन्त्रीले केन्द्र सरकारको मार्गदर्शनमा सिक्किम सबैका लागि सुरक्षित, बलियो र न्यायपूर्ण समाज सुनिश्चित गर्दै न्याय, सुरक्षा र कानुनको शासनलाई कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्।