गान्तोक, 13 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज अचानक राभाङलामा चलिरहेको ‘डिस्कभर राबोङ छो-जो फेस्ट‘ पुगे। उनले कार्यक्रम स्थलमा उपस्थित सबै जनाबाट न्यानो र उत्साहजनक स्वागतले सॉंच्चै प्रभावित बनेको आज सामाजिक सञ्जालमा बताएका छन्।
पॉंच दिवसीय ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ गत शुक्रवारदेखि शुरू भएको छ। यस महोत्सव अन्तर्गत आयोजित ‘प्रथम मुख्यमन्त्री स्वर्ण कप भलिबल टुर्नामेन्ट’ मुख्य आकर्षण रहेको छ। मुख्यमन्त्री पनि यहॉं जारी टुर्नामेन्टको आज साक्षी बने। उनले प्रतिस्पर्धी टोलीहरूद्वारा प्रदर्शित ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावना वास्तवमा उल्लेखनीय रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङ यो जीवन्त महोत्सवले जनताको समृद्ध सांस्कृतिक भावनालाई प्रतिबिम्बित गर्दछ र सिक्किममा तृणमूल स्तरको खेलकुद र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्ने सरकारको प्रतिबद्धतालाई सुदृढ बनाउँछ भनी उल्लेख गरेका छन्। उनले भव्य समारोह आयोजनको निम्ति आयोजकहरू र समुदायलाई हार्दिक बधाई दिएका छन्।
