गान्तोक, 25 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङ र मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई आज नाम्चीको सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा सहभागी बने।
सिद्धेश्वर धामको 15औं स्थापना वर्ष समारोहको अवसरमा 19 अप्रेलमा शुरु भएको आध्यात्मिक कार्यक्रम आज दिव्य भक्ति र सांस्कृतिक श्रद्धाको वातावरणमा समापन भयो। सात दिवसीय धार्मिक प्रवचन जगतगुरु अनन्त विधुष्टु बालशान्त मोहन शरण देवाचार्य महाराज श्रीको नेतृत्वमा भएको थियो, जसमा श्री बिहारी शरण गुरु महाराजले विशेष प्रवचन दिएका थिए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जगतगुरु महाराजलाई उनको दिव्य उपस्थिति र आशीर्वादको लागि हार्दिक बधाई र हार्दिक कृतज्ञता व्यक्त गरे। उनले सिक्किम राज्य स्थापनाको 50औं वर्षको अवसरमा आयोजित महायज्ञले राज्यको निम्ति अपार आध्यात्मिक पुण्य लिएर आएको बताए। उनले प्राविधिक प्रगतिका साथै वास्तविक ‘चेतना’ लोप हुँदै गएको उल्लेख गर्दै आत्म-जागरूकता दया र मानवता मार्फत मात्र पुनर्जीवित गर्न सकिन्छ भनी बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 2019 देखि सरकारले समुदायहरूलाई एकताबद्ध गर्न तथा स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूलाई सुदृढ पार्न गरिरहेको प्रयासमाथि प्रकाश पारेका थिए। सांस्कृतिक संरक्षणमा जोड दिँदै उनले सिक्किमको परम्परा, कला, भाषा र सम्पदाको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले भारतमा नेपाली भाषाको आधिकारिक मान्यता प्राप्त गर्नमा पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको योगदानको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनले यस विरासतलाई निरन्तरता दिँदै वर्तमान सरकारले भाषा मान्यता दिवसलाई राजपत्रित राज्य बिदाको रूपमा घोषणा गरेको जानकारी गराए।
आफ्नो प्रवचनमा जगतगुरु महाराजले सिक्किमलाई आध्यात्मिक रूपमा धन्य भूमि बताए। उनले सिक्किम प्राकृतिक सौन्दर्यले मात्र नभई हिन्दू धर्मशास्त्रहरूमा सम्मानित टिस्ता र रंगीत जस्ता पवित्र नदीहरूले पनि सुशोभित रहेको बताए। उनले मुख्यमन्त्रीलाई धर्मी र धार्मिक नेताको संज्ञा दिॅंदै सिक्किमलाई ‘तीर्थभूमि’ विश्वभरका हिन्दूहरूको तीर्थस्थल बताए।
मुख्यमन्त्रीले राज्यको समृद्धि र कल्याणको निम्ति मेधा हवानामा भाग लिए। यसैगरी, मुख्यमन्त्रीलाई उनको नेतृत्व र समर्पणको सम्मान गर्दै जगतगुरु महाराजको बाहुलीद्वारा सम्मानित गरियो।

Leave a comment