पाकिम, 27 अप्रेल। पाकिम जिल्लाको कार्थोक आर्चेरी फिल्डमा आयोजित 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कपको उपाधि सिच्छे मावरिक्सले आफ्नो नाम गरेको छ। आज सम्पन्न फाइनलमा सिच्छे मावरिक्सले प्रतिद्वन्दी दल ग्रीन तारालाई 50–19 ले पराजित गऱ्यो।
विजयी दलका सोनाम ग्याल्छेन डुक्पालाई उनको उत्कृष्ट प्रदर्शनको निम्ति म्यान अफ् द म्याच र म्यान अफ् द सीरीज चयन गरियो। विजेता दललाई ट्रफीसहित 4.5 लाख रूपियॉं नगद र उपविजेता दललाई ट्रफीसहित 3.5 लाख रूपियॉं नगद प्रदान गरियो।

यसैगरी, परमपरागत डार्ट प्रतियोगितामा यावा बोइजले छाम्पो 7 लाई 98-36 ले पराजित गऱ्यो। यस प्रतियोगितामा जिग्मी वाङचुकलाई म्यान अफ् द म्याच र लाकु छिरिङलाई प्लेयर अफ् द टुर्नामेन्टले सम्मानित गरियो।
यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। यस प्रतियोगिताको आयोजना पाकिम जिल्ला आर्चेरी संघले पाकिम जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा सिक्किमको 50औं राज्य दिवस समारोह अन्तर्गत गरिएको थियो।
यस प्रतियोगिताको शुरुवात 10 अप्रेलदेखि भएको थियो, जसमा सिक्किम लगायत पश्चिम बंगाल र भूटानका 15 आर्चेरी टीमले भाग लिएको थियो।
