गान्तोक, 05 मई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको चालक परिषदका अध्यक्ष आशिष राईमाथि आज बिहान गान्तोकमा उनको किरायको घरमा माक्सधारी अज्ञात व्यक्तिहरूले मार्तोलले प्राणघातक हमला गरेका छन्। उनको टाउको, घुॅंडा र शरीरका अन्य भागहरूमा गम्भीर चोट लागेको छ। उनी अहिले एसटीएनएम अस्पतालमा उपचाराधिन छन्।
सीएपी सिक्किमले घटनाको कठोर शब्दमा भर्त्सना जनाउॅंदै यसलाई सुनियोजित र प्रजातन्त्रविरोधी षड्यन्त्र ठहर गरेको छ। सीएपीले सिक्किम सरकार र प्रशासनले यदि आफूलाई संविधानको संरक्षक ठान्छ भने तत्काल अपराधीहरूलाई सार्वजनिक रूपमा पहिचान गरी कानुनी कठघरामा ल्याउनुपर्छ भनी आज जारी प्रेस विज्ञप्तिमा माग गरेको छ। अन्यथा, राज्यको मौनताले यो हमला कसैको निर्देशनमा भएको थियो भन्ने पुष्टि गर्ने सीएपीले उल्लेख गरेको छ।
सीएपीले यो हमला एउटा ट्याक्सी चालकमाथि मात्र होइन, तर यो हमला जनताको आवाजमाथि, बोल्न पाउने अधिकारमाथि र प्रजातन्त्रकै आत्मामाथि हो भनी ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, आशिष राई कुनै ठूला सम्पत्तिवान थिएनन्, ऊनी एक सामान्य नागरिक थिए, जसले आफ्नो पेट पाल्न ट्याक्सी चलाउँथे र जनताको दु:ख सुनाउँथे। सडकको अवस्था, चालकहरूको पीडा, जनजीवनका कष्टहरूमा उनले आवाज उठाउँदा, कसैका संरक्षित गुण्डाहरूको आँखा टाँसिएको थियो। राष्ट्रमा पचास वर्ष पुगेको सिक्किममा यदि सडकमा श्रमिक वर्ग सुरक्षित छैन भने यस्तो सिक्किमको गर्व गर्नुको अर्थ के रहन्छ?, सीएपीले प्रश्न गरेको छ।
सीएपीले राज्यमा अब शान्ति, सुरक्षा, न्याय छैन भन्दै बोल्ने जो कोहीलाई दबाइन्छ, डराइन्छ, र अन्ततः प्राणघातक आक्रमण गरिन्छ, जुन आशिष राईमाथिको हमला यसको ज्वलन्त प्रमाण रहेको बताएको छ। सीएपीले आशिष राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिटिजन एक्सन पार्टी सधैं जनताको पक्षमा, आवाजको पक्षमा र सत्यको पक्षमा उभिइरहनेछ भनी बताएको छ।

Leave a comment