पाकिम, 23 मई। भारत सरकारका विदेश तथा कपडा राज्यमन्त्री पवित्रा मार्गेरिटा आज एक दिने भ्रमणका लागि पाकिम जिल्ला आइपुगे। उनको यात्रा कार्यक्रममा स्वास्थ्यकर्मी, शिक्षक, बालबालिका र स्थानीय प्रशासकहरूसँगको अन्तरक्रिया समावेश थियो। केन्द्रिय राज्यमन्त्रीलाई पाकिम जिल्लाका जिल्लापाल रोहन अगवाने, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया र जिल्ला अधिकारीहरूले स्वागत जनाए।
केन्द्रिय राज्यमन्त्रीले भ्रमणको शुरुवात पाकिममा एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रबाट गरे, जहाँ उनले कर्मचारी सदस्यहरूसँग अन्तरक्रिया गरे भने केन्द्रका बालबालिकाहरूसँग कुराकानी गर्दै समय बिताए। यसपछि, उनी पाकिम प्राथमिक स्वास्थ्य केन्द्र गए, जहाँ उनले चिकित्सा अधिकारीहरू र अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूसँग भेट गरे।
आफ्नो अन्तरक्रियाको क्रममा मार्गेरिटाले स्वास्थ्य केन्द्रको कार्यप्रणालीको समीक्षा गरे, सुविधाहरूको समीक्षा गरे र आवश्यक औषधिको उपलब्धता, कर्मचारी संख्या र आपतकालीन सेवाहरूको बारेमा सोधपुछ गरे। यसैगरी, मार्गेरिटाले पाचे वरिष्ठ माध्यमिक विद्यालयको भ्रमण गरे, जहाँ उनले विद्यार्थी र शिक्षकहरूसँग अन्तरक्रिया गरे।
भ्रमण अवधि केन्द्रिय राज्यमन्त्रीको साथमा जिल्ला प्रशासन र विभिन्न लाइन विभागका प्रमुखहरूसहित अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a comment