गान्तोक, 4 दिसम्बर। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी १७औँ रोलु दिवस २०२५ को तयारीलाई ध्यानमा राख्दै आज नाम्ची जिल्लाअन्तर्गत रोलु मन्दिर परिसरमा पहिलो बैठक आयोजन गर्यो। पार्टीका वरिष्ठ उपाध्यक्ष तथा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडाको अध्यक्षतामा बसेको यस बैठकमा पार्टीका सेक्रेटरी जनरल अरुणकुमार उप्रेती, विधानसभा उपाध्यक्ष, मन्त्रीगण, सांसद, राजनीतिक सचिवहरू, सल्लाहकारहरू, अध्यक्ष तथा संयोजकहरू, ओएसडीहरू, पार्टीका उपाध्यक्षहरू, विभिन्न भातृ संगठनका पदाधिकारी, युवा र नारीशक्तिका प्रतिनिधिहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकको एजेन्डा प्रस्तुत गर्दै सेक्रेटेरी जेनरल अरुण उप्रेतीले यस वर्षको रोलु दिवस विशेष परिवेशमा पालन गरिने जानकारी गराए। उनले “२१ दिसम्बरमा सिक्किमको एक महत्वपूर्ण पर्व “लोसुङ” परेको कारण यस वर्ष रोलु दिवसलाई सामान्य रूपमा पालन गरिने जानकारी गराए। तर, आकार सानो भए पनि पूजालाई मुख्य कार्यक्रमका रूपमा लिइने र कार्यक्रमको आत्मा, भावना र ऐतिहासिक महत्त्व जस्ताको तस्तै रहने उनले स्पष्ट पारे। उप्रेतीले भने, “रोलु मन्दिर हाम्रो पार्टीका लागि साधारण मन्दिर मात्र नभई २००९ मा क्रान्तिले पहिलो श्वास फेरेको पवित्र भूमि हो, त्यसैले कार्यक्रमको भव्यता भन्दा पनि भावनात्मक गम्भीरता महत्वपूर्ण रहनेछ।” उनले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तमाङको निर्देशनअनुसार सबै जिल्लाका कार्यकर्ताहरूलाई उत्साह, समर्पण र एकता कायम राखेर कार्यक्रम सफल बनाउन आह्वान गरे।कार्यक्रमका प्रमुख वक्ता जेकब खालिङले पार्टीप्रति कड़ा प्रतिबद्धता र अनुशासनको महत्वबारे सम्बोधन राखे। उनले पार्टीका पदहरू अस्थायी भए पनि एक क्रान्तिकारी कार्यकर्ता भएर पार्टीको सिद्धान्त, निष्ठा र भावनासँग जोडिने पहिचान सधैँ स्थायी रहने उल्लेख गरे। उनले रोलु दिवस जस्तो ऐतिहासिक दिनले सबैलाई आफ्नो भूमिकाको अनुभूति गराउने र पार्टीको मूल विचारधारामा आबद्ध भएर रहन प्रेरित गर्ने बताए।यसैगरी, छोपेल शेर्पाले यस वर्षको व्यवस्थापन र समन्वय कार्यबारे जानकारी गराउँदै सल्लाहकार, अध्यक्ष, ओएसडी, प्रेस सचिव लगायतका नामित पदाधिकारीहरूले जिम्मेवारी बाँडफाँड गर्दै कार्यक्रमलाई व्यवस्थित रूपले अघि बढाउने बताए। बैठकमा बोल्दै विधायक कला राईले विपक्षीहरूद्वारा गरिने नकारात्मक प्रचारप्रति कडाइका साथ आवाज उठाउन सबैलाई आग्रह गरिन्। उनले वर्तमान मुख्यमन्त्रीजस्तो दयालु, सरल, न्यायप्रिय र जनमुखी नेतृत्व सिक्किमले पाउनु दुर्लभ हो भन्दै उनका जनपक्षीय नीति–कार्यक्रमहरूले हजारौँ नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याइरहेको कुरामाथि जोड दिइन्। विपक्षीहरूले सधैँ भ्रम फैलाउने प्रवृत्तिलाई तथ्य, तर्क र सभ्य राजनीतिक संस्कारका माध्यमबाट काट्नसक्ने शक्ति एसकेएम परिवारमा पर्याप्त रहेको पनि उनले बताइन्।कार्यक्रमका अध्यक्ष विष्णु कुमार खतिवडाले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी रोलु दिवस सफल, शान्तिपूर्ण र उद्देश्यपूर्ण होस् भन्ने कामना गरे। उनले रोलु मन्दिरको दिव्य आशीर्वाद सधैँ पार्टी अध्यक्ष पीएस गोले, पार्टी र सम्पूर्ण क्रान्तिकारी परिवारमाथि रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेको जानकारी सोशल मीडिया प्रकोष्ठ अध्यक्ष नवीन दाहालले प्रेस विज्ञप्तिमा दिएका छन्।


