गान्तोक, 13 मई। माटो कविका रूपमा परिचित लोकप्रिय कवि स्वर्गीय जीवन थिङको राजधानीमा मूर्ति स्थापना गरिएको छ। राजधानीको जीवन थिङ मार्गमा स्थापित उनको मूर्ति आज एक कार्यक्रमबीच अनावरण गरियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङले माटो कवि स्वर्गीय जीवन थिङको मूर्ति अनावरणप्रति खुशी व्यक्त गर्दै सिक्किम तामाङ बौद्ध संघ साथै समस्त आयोजक समिति तथा परिवारजनलाई हार्दिक बधाई एवं अभिनन्दन व्यक्त गरेका छन्। उनले यस कार्यमा संलग्न सम्पूर्ण संघ संस्था अनि संगठनका प्रतिनिधिहरूलाई हार्दिक बधाई एवं आभार व्यक्त गर्न गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा साहित्य अनुरागीजनका आत्मीय कविका रूपमा परिचित कवि जीवन थिङले आफ्नो अल्पायुमै नेपाली साहित्यमा अमिट योगदान पुर्याएको उल्लेख गरेका छन्। उनले उनका सिर्जनाहरूले मातृभूमिप्रतिको प्रेम, सामाजिक चेतना र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा उजागर गरेको बताएका छन्।
मुख्यमन्त्रीले उनको शालिक अनावरण केवल एक साहित्यकारप्रतिको सम्मान मात्र नभई सिक्किमको साहित्यिक तथा सांस्कृतिक गौरवको सम्मान पनि रहेको बताएका छन्। उनले स्वर्गीय थिङका कालजयी शब्दहरूले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन्।
Leave a comment


