पाकिम, 04 जनवरी । रम्फूस्थित सिक्किम क्रिकेट खेल मैदानमा आइतवारदेखि प्रथम अन्तर विभाग क्रिकेट टुर्नामेन्ट शुरू भएको छ। सिक्किम क्रिकेट एसोसिएशनले सिक्किम सरकारको संयुक्त तत्वावधानमा आयोजना गरिरहेको यस प्रतियोगिताको उद्घाटन आज मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे।
सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) का प्रमुख संरक्षक समेत रहेका मुख्यमन्त्री तामाङले प्रतियोगिता शुरू भएको आधिकारिक रूपमा घोषणा गरे। यस अवसरमा खेलकुद मन्त्री राजु बस्नेत, विधायक सन्जित खरेल, एसआईसीए अध्यक्ष टिका सुब्बा, सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया, पाकिम जिल्लाका जिल्लापाल रोहन अगवाने, पुलिस अधीक्षक पारू रूचाल तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
प्रतियोगितामा सिक्किम सरकारका कुल 28 विभाग र सार्वजनिक क्षेत्रका उपक्रमहरूले भाग लिइरहेका छन्। प्रतियोगिता आयोजन गर्नुको उद्देश्य राज्यमा खेलकुद पारिस्थितिक प्रणालीलाई सुदृढ पार्दै टीम भावना, एकता र खेलकुदलाई बढावा दिनु रहेको बताइएको छ।
यस प्रतियोगिताका विजेता दललाई नगद 10 लाख रूपियॉं र उप विजेता दललाई नगद 5 लाख रूपियॉं प्रदान गरिने छ। पुरस्कार रकम स्टेट ब्याङ्क अफ सिक्किमले प्रायोजित गरेको छ। प्रतियोगिताको उद्घाटन खेल आज मुख्यमन्त्री कार्यालय र उर्जा विभागमाझ सम्पन्न भयो।
यस अवसरमा एसआईसीएले मुख्यमन्त्रीलाई सम्मान जनायो। यसैगरी, सिक्किमको महिला क्रिकेट दलले वरिष्ठ महिला टी20 ट्रफी 2025–26 को प्लेट डिभिजनमा जित हासिल गरेकोमा दलका खेलाडीहरूलाई सम्मानित गरियो। उक्त प्रतियोगिता भारतीय क्रिकेट नियन्त्रक बोर्डले आयोजन गरेको थियो।
Leave a comment


