गान्तोक, 17 जून। वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने भएको छ। उक्त निर्णय आज नेपाली साहित्य परिषद्, सिक्किमको विकास क्षेत्रस्थित कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा लिइएको हो। बैठक परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको थियो।नेपाली साहित्य परिषद, सिक्किमले परम्परागत रूपमा प्रदान गरिँदै आएको भानु पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई प्रदान गरिने निर्णय गरेको प्रेस विज्ञप्तिमा बताएको छ। विज्ञप्तिमा भनिएको छ, उक्त निर्णय चयन समितिको सिफारिस अनुरुप गरिएको हो। नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा दीर्घकालदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका सुब्बा १९९२ देखि १९९८ सम्म नेपाली साहित्य परिषदका उपाध्यक्ष रहेका थिए। उनी १९९० मा गठित भारतीय नेपाली राष्ट्रिय परिषद (भानेराप) का कोषाध्यक्ष समेत रहेका थिए। उनी सिक्किम अकादमीका क्रमश: दुईपटक अध्यक्ष रहेका थिए। १९६६-६७ तिर उनको हस्तलिखित पत्रीका (झुल्के घाम) आफ्नै सम्पादनमा प्रकाशित गरेका थिए भने नेपाली भाषाका अरु कृतिहरुमा “कथा बनेका ब्यथाहरु” र “मेरो झ्यालबाट” पनि रहेकाछन्।उनले लिम्बू साहित्यमा पनि कलम चलाउँदै दुई कृतिहरु प्रकाशित गरिसकेका छन्।साहित्यकार सुब्बाले साहित्य सिर्जना, साहित्यिक नेतृत्व तथा संस्थागत विकासमार्फत नेपाली साहित्यको उन्नयनमा पुर्याएको योगदान अनुकरणीय र प्रेरणादायी मानिएको छ। परिषद्को बैठकले नेपाली साहित्यप्रतिको उनको समर्पण, निरन्तर साधना तथा विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको भानु पुरस्कार उनलाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो।उक्त पुरस्कार आगामी १३ जुलाई, २०२६ मा आयोजना गरिने २१२औँ भानु जयन्ती समारोहका अवसरमा नेपाली साहित्य परिषद्, सिक्किमद्वारा आयोजित विशेष कार्यक्रममा विधिवत् रूपमा प्रदान गरिनेछ। नेपाली साहित्य परिषद्, सिक्किमले वरिष्ठ साहित्यकार सुब्बालाई यस प्रतिष्ठित सम्मानका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनको साहित्यिक यात्रा अझ सशक्त र सिर्जनशील बनिरहोस् भन्ने कामना गरेको छ।


