गान्तोक, 04 अगस्त। जर्नलिस्ट युनियन अफ सिक्किम (जेयुएस) को नयाँ कार्यकारी समिति गठन गरिएको छ। पत्रकार प्रवीण खालिङ निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन्।जर्नलिस्ट युनियन अफ सिक्किमको नयाँ कार्यकारी समिति गठनका लागि ३१ जुलाई, २०२६ देखि शुरु भएको निर्वाचन प्रक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ। उम्मेदवारी दर्ताको अन्तिम दिन ३ अगस्त, २०२६ सम्म कार्यकारी समितिका सात पदका लागि कुल आठवटा उम्मेदवारी दर्ता भएका थिए। उम्मेदवारीको जाँच तथा उम्मेदवारी फिर्ताको मिति ४ अगस्त, २०२६ निर्धारित थियो। यस प्रक्रियापछि सात पदका लागि सातवटा वैध उम्मेदवारी मात्र कायम रहेको चुनाउ समितिले प्रेस विज्ञप्तिमा जनाएको छ। वैध उम्मेदवारहरूको संख्या पद संख्यासँग बराबर भएकाले सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित घोषित भएका छन्। जेयुएसको अध्यक्ष पदमा प्रविण राई खालिङ, उपाध्यक्ष दिलीप कुमार कार्की, महासचिव सुरज लिम्बू, संयुक्त सचिव सन्दीप प्रसाद, कोषाध्यक्ष अम्बर गुरुङ, सहायक कोषाध्यक्ष नीमा ल्हामु तामाङ र प्रचार सचिव अनुशिला शर्मा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यकारी समितिको कार्यकाल निवर्तमान कार्यकारी समितिबाट औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको मितिदेखि शुरु हुनेछ।निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गराउन सहयोग, समझदारी र समर्थन प्रदान गरेकोमा युनियनका सम्पूर्ण सदस्यहरूप्रति निर्वाचन समितिले हार्दिक आभार व्यक्त गरेको छ। साथै, निर्वाचन सञ्चालनका क्रममा सहयोग र सहकार्यको निम्ति निवर्तमान कोषाध्यक्ष मनिता तामाङप्रति पनि समितिले कृतज्ञता व्यक्त गरेको छ।यससँगै निर्वाचन समितिले जर्नलिस्ट युनियन अफ सिक्किम निर्वाचन २०२६ औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरेको छ।


