गान्तोक, 03 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ (एसआईसीबी) को शासकीय बोर्डको पाँचौँ बैठकको अध्यक्षता गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सोशल मिडियामा साझा गरेका छन्।
बैठकमा संस्थाको स्थापना भएदेखि हालसम्मको भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना तथा क्षमता निर्माण र सीप विकासलाई थप सुदृढ बनाउन विभिन्न सीप विकास कार्यक्रमहरूलाई एकीकृत गर्ने विषयमा पनि छलफल गरिएको थियो।
मुख्यमन्त्री तामाङले बैठकमा भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिए। उनले सिक्किममा क्षमता निर्माण तथा सीप विकासको प्रमुख संस्थाका रूपमा एसआईसीबीको भूमिकालाई थप प्रभावकारी बनाउन केन्द्रित र परिणाममुखी प्रयास आवश्यक रहेकोमा जोड दिए।
मुख्यमन्त्रीले बैठकमा संस्थागत क्षमता सुदृढ गर्ने, सीपमार्फत युवाहरूलाई सशक्त बनाउने तथा सिक्किममा सिकाइ, विकास र रोजगारीका थप अवसर सिर्जना गर्ने प्रतिबद्धतालाई पुनः दोहोर्याएको उल्लेख गरेका छन्।
Leave a comment


