गान्तोक, 25 सेप्टेम्बर। पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत रिम्बी गाउँमा लगातार भइरहेको अविरल वर्षाका कारण ठूलो पैह्रो गएको छ। पैह्रोका कारण गाउँका धेरै घरमा क्षति पुगेको छ भने जोखिममा परेका परिवारहरू आफ्ना घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।प्राप्त जानकारीअनुसार, पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण रिम्बी गाउँमा पैह्रो जाने, जमिन भासिने तथा चिरा पर्ने क्रम बढ्दै गएको थियो। यसै क्रममा बिहीबार-शुक्रबार राति ठूलो पैह्रो खसेपछि गाउँका विभिन्न क्षेत्रमा रहेका घर तथा संरचनामा क्षति पुगेको बताइएको छ। पैह्रोबाट स्थानीय लगभग ३० परिवार प्रभावित बनेको र उनीहरू आफ्नो घर पैह्रोको जोखिममा परेपछि घर छाडेर अन्यत्र आश्रय लिन बाध्य भएका छन्। केही परिवारले आफन्त तथा सुरक्षित स्थानमा शरण लिएका छन् भने प्रभावित क्षेत्रमा थप क्षतिको जोखिम कायम रहेको बताइएको छ।स्थानीयका अनुसार, लगातारको वर्षाका कारण जमिन अझै कमजोर अवस्थामा रहेको छ। पैह्रो प्रभावित क्षेत्रमा थप पैह्रो खस्ने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन गर्ने तथा जोखिमको अवस्थाबारे मूल्याङ्कन गर्ने कार्य भइरहेको बताइएको छ।यस घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ। ठूलो पैह्रोका कारण घर तथा सम्पत्तिमा क्षति पुगे पनि कुनै व्यक्तिको ज्यान गएको विवरण सार्वजनिक भएको छैन।


