गान्तोक, 05 मई। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आनन्द राई र आशिष राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको गम्भीर आरोप लगाएको छ। विपक्षी पार्टीले यसरी आफ्नै पार्टीका आनन्द राई र अशिष राईमाथि हमला गराएर एसकेएम पार्टीका सरकार अनि वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्व र सिक्किमे जनतालाई गिराउने काममा लागिपरेको एसकेएमले ठहर गरेको छ।
एसकेएम प्रवक्ता कृष्ण लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा विपक्षी पार्टीका नेताहरूले हिंसात्मक गतिविधि अपनाएर सिक्किम र सिक्किमे जनताको मान तथा मर्यादालाई घात पुर्याउने काम गरिरहेको आरोप लगाउॅंदै यसको कडा शब्दमा निन्दा तथा घोर भत्सर्ना गरेका छन्। उनले एसकेएम पार्टी अहिंसात्मक सिद्धान्तलाई मान्ने पार्टी रहेको बताउॅंदै सिक्किम राज्यमा प्रजातन्त्रको पुनर्बहाली गरेर प्रजातान्त्रिक माहोल सिर्जना गर्ने सिक्किमका पहिलो नेता प्रेमसिंह तामाङ रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, अहिले सिक्किममा शान्ति, सुरक्षा, विकास र स्थिरता छाएको छ। एसकेएम पार्टीको सरकार सिक्किम राज्यको 50 वर्ष पुगेकोमा भव्य तथा सभ्य रूपमा राज्य दिवस मनाउन लागिपरेको छ। यस ऐतिहासिक दिनमा भारत देशका प्रधानमन्त्री, गृहमन्त्री अनि विभिन्न राज्यका मुख्यमन्त्री लगायत अनेकौँ अतिथिगणको गरिमामय उपस्थिति रहने हुनाले एसकेएम पार्टीको सरकार विभिन्न कार्यक्रममा व्यस्त रहेको उनले जानकारी गराएका छन्। तर, जनताले 2024 को चुनाउमा नकारिसकेका नेताहरूले सरकारको राम्रो छविमा हिलो छेप्ने र राज्य दिवसलाई सफल हुन नदिनुमा लागिपरेको उनले आरोप लगाएका छन्।
उनले एसकेएम पार्टी आफै पनि एसडीएफ पार्टीको हिंसाको शिकार भएर सत्तामा आएको हुनाले एसकेएम पार्टीले जहिल्यै पनि राजनैतिक हत्या, हिंसाको घोर विरोध गर्दछ, हिंसाको विरोधमा एसकेएम पार्टी र नेता प्रेमसिंह तामाङ हिमाल झैँ अटल भएर उभिएको बताएका छन्। उनले हमलाकाण्डको ठोस अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन समक्ष माग राखेका छन्।

Leave a comment