गान्तोक, 12 अगस्त। अखिल भारतीय शेर्पा बौद्ध संघ (एआईएसबीए) ले सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सीबीएसई कक्षा ११ र १२ मा दोस्रो स्थानीय भाषाको रूपमा तामाङ, गुरुङ र राईसँगै शेर्पा भाषालाई समावेश गर्न महत्त्वपूर्ण मुद्दा शिक्षा राज्यमन्त्री जयन्त चौधरीसमक्ष उठाएकोमा प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ।
शेर्पा भाषा हाल माध्यमिक तहमा कक्षा १० सम्म पढाइन्छ। कक्षा ११ र १२ मा यसको मान्यता विस्तार गर्नाले वरिष्ठ माध्यमिक तहका विद्यार्थीहरूको लागि अत्यन्त आवश्यक शैक्षिक निरन्तरता प्रदान गर्ने एआईएसबीएले आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।
एआईएसबीएले आदिवासी भाषाहरूको प्रवर्द्धन र संरक्षणमा निरन्तर सहयोगको लागि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति पनि हार्दिक आभार व्यक्त गरेको छ। राज्य आदिवासी भाषा बोर्डमार्फत कक्षा ११ र १२ को लागि शेर्पा भाषा शिक्षाको निरन्तरताले युवा विद्यार्थीहरूलाई कक्षा १० पछि आफ्नो मातृभाषा अध्ययन गर्न जारी राख्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। यसले विद्यार्थीहरूलाई वरिष्ठ माध्यमिक तहमा आफ्नो भाषा शिक्षा लिनबाट निरुत्साहित नगर्ने कुरा सुनिश्चित गर्न पनि मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, एआईएसबीएले डेन्जोङ शेर्पा संघको प्रयासको पनि सराहना गरेको छ, जसले पहिलेदेखि नै यो मुद्दालाई उठाउॅंदै आएको थियो। संघले वरिष्ठ माध्यमिक तहमा सीबीएसईद्वारा शेर्पा भाषाको मान्यताले देशभरका शेर्पा विद्यार्थीहरूको लागि व्यापक शैक्षिक अवसरहरू प्रदान गर्दै यसको संरक्षण, प्रवर्द्धन र अर्को पुस्तासम्म प्रसारणलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
Leave a comment


