
गान्तोक, 2026 सेप्टेम्बर। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चाम्लिङले सिक्किम र सिक्किमेली जनताको भविष्यलाई लिएर आफ्नो पार्टी मात्र चिन्तित रहेको दाबी गरेका छन्। उनले एसडीएफबाहेक अन्य राजनीतिक दल सिक्किम र सिक्किमेली जनताप्रति इमानदार नरहेको आरोपसमेत लगाएका छन्।
एसडीएफ मुख्यालयमा शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा जिल्ला प्रमुखहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै चाम्लिङले एसडीएफ बाहेक अन्य राजनीतिक दलहरूले सिक्किम र सिक्किमेली जनतालाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाए। उनले आफूले कसलाई भेट्यो र कुन पार्टीसँग मिल्यो भन्ने विषयमा आफूविरुद्ध अफवाह फैलाउने काम भइरहेको पनि बताए। चाम्लिङले अन्य दलका नेताहरू सिक्किमबाहिरका पुँजीपति तथा राजनीतिक दलहरूसँग आबद्ध रहेको आरोप लगाउँदै उनीहरूका आका बाहिर रहेको दाबी गरे।
आफूले राजनीति छाडेको हल्ला पनि उनीहरूले नै फैलाएको बताउँदै चाम्लिङले आफूले राजनीति छाड्नु उनीहरूको केवल सपना रहेको बताए। उनले आफूले पार्टी र राजनीति छाडेर सिक्किम तथा सिक्किमेली जनतालाई टुहुरो बनाएर जान नसक्ने बताए। उनले भने, ‘म सिक्किम र सिक्किमेलाई असाध्यै प्रेम गर्छु। म सिक्किम र सिक्किमेको अभिभावक हुँ, रक्षक हुँ। म सधैँ सिक्किमेली जनतालाई उनीहरूका शत्रुबाट जोगाउने राजनीति गरिरहेको छु र गरिरहनेछु।’
एसडीएफविरोधी तथा सिक्किमविरोधी तत्वबाट फैलाइएका भ्रामक हल्लाबाट सिक्किमलाई जोगाउन पूर्ण शक्ति लगाउन पार्टीका नेताहरूलाई निर्देशन दिँदै चाम्लिङले एसडीएफलाई युद्धस्तरमा अघि बढाउन आह्वान गरे। उनले एसडीएफ सरकारले व्यवस्थित रूपमा छाडेर गएको सिक्किमलाई वर्तमान एसकेएम सरकारले लथालिङ्ग बनाएको आरोप लगाए। वर्तमान सरकारले गरिरहेको “मोजमस्ती” को मूल्य सिक्किमेली जनताले पुस्तौँसम्म कष्ट सहेर चुकाउनुपर्ने चेताउनी पनि उनले दिए।
सिक्किमेली जनताले पाएका सबै सहुलियत तथा सुविधाको आधार एसडीएफ सरकारले निर्माण गरेको विकासको जग रहेको दाबी गर्दै चाम्लिङले वर्तमान सरकारले त्यस जगका आधारहरू नै भत्काइरहेको आरोप लगाए।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा जिल्ला प्रमुखहरूले पनि आ-आफ्ना धारणा राखेको वरिष्ठ उपाध्यक्ष (प्रचार-प्रसार) अम्बर राईले प्रेस विज्ञप्तिमा बताएका छन्।


