गान्तोक, 9 मार्च। कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज राजधानीको चिन्तन भवनमा आयोजित गरियो। समारोहमा राज्यपाल ओम प्रकाश माथुर विश्वविद्यालयको कुलाधिपतिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि र शिक्षा मन्त्री राजु बस्नेत विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
समारोहमा राज्यपालले संस्कृत र नेपाल विषयका विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनको निम्ति स्वर्ण र रजत पदक प्रदान गरे। यस अवसरमा विश्वविद्यालयका कुल 43 डिग्री धारकलाई डिग्री प्रदान गरियो।
राज्यपालले आफ्नो सम्बोधनमा उच्च शिक्षाको महत्वमा बल दिॅंदै विद्यार्थीहरूलाई उनीहरूको परिश्रम र समर्पणको निम्ति बधाई दिए। उनले भने, विश्वविद्यालयले भाषाको क्षेत्रमा विकासलाई गति प्रदान गर्दै उच्च शिक्षाको सार्थक भूमिका निर्वाह गरिरहेको छ। विश्वविद्यालयले भाषाको संरक्षण र संवर्धनको दिशामा आफ्नो योगदान दिइरहेको छ।
राज्यपालले मातृभाषामा जोड दिॅंदै भने, आफ्नो मातृभाषाको माध्यमले हामी ज्ञानलाई राम्ररी बुझ्न सक्छौ भने आफ्नो संस्कृति, परम्परा र जरालाई पनि कायम राख्न सक्छौ। भाषा केवल संवादको माध्यम होइन, यो सम्पूर्ण संस्कृति, परम्परा, ज्ञान र जीवनको अनुभवहरूको वाहक पनि हो।
उनले भने, जब कुनै भाषा विलुप्त हुन्छ, त्यससॅंगै उक्त समुदायको इतिहास र पहिचानको एउटा महत्वपूर्ण भाग पनि गुमेर जान्छ। राज्यपालले उपस्थित सबैलाई भाषाको संरक्षण र संवर्धनको निम्ति हर सम्भव प्रयास गर्न आह्वान गरे। यसका साथै, उनले विद्यार्थीहरूलाई डिग्रीको उपयोग व्यक्तिगत स्तरका साथै समाजको उत्थान र राष्ट्रको प्रगतिको निम्ति पनि गर्न अनुरोध गरे।

Leave a comment