गान्तोक, 11 नोभेम्बर । गेजिङ पुलिसले लाखौं रूपियॉंको सुनका गहना र नगद चोरीसॅंग सम्बन्धित ठूलो चोरीकाण्डको घटना सफलतापूर्वक समाधान गर्दै आरोपी व्यक्तिलाई पक्राउ गर्न सफल बनेको छ। पुलिसले आरोपीलाई सिलगढ़ीमा पक्राउ गरेको बताइएको छ।
गेजिङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले यस खबरको पुष्टि गर्दै लगभग 16 लाख 98 हजार 500 रूपियॉं बराबरको चोरीकाण्डलाई सफलतापूर्वक समाधान गर्न गेजिङ पुलिस सफल बनेको बताएका छन्। पुलिस अधीक्षक प्रधानले आज एक प्रेस विज्ञप्तिमा बताएअनुसार, 29 अक्टोबर, 2025 का दिन सरदुङ निवासी रामहाङ लिम्बूले गेजिङ थानामा चोरीको घटनाबारे लिखित शिकायत दर्ता गराएका थिए। शिकायतको आधारमा पुलिसले भारतीय न्याय संहिताका सम्बन्धित प्रावधानहरू अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गऱ्यो।
जॉंचको क्रममा पुलिसले गत 1 नोभेम्बरका दिन पेलिङबाट जिग्मी सोनाम भोटियालाई पक्राउ गऱ्यो र उनीबाट चोरी भएका सम्पत्तिको ठूलो हिस्सा बरामद गऱ्यो। पक्रा पर्ने व्यक्तिबाट प्राप्त सूचनाको आधारमा गेजिङ पुलिस स्टेशनका एसएचओ रोशन गुरुङको अगुवाईमा एक विशेष टोली सिलगढ़ी प्रस्थान गऱ्यो। सिलगढ़ीमा प्रधान नगर पुलिस टिमको सहयोगमा गेजिङ पुलिसको टिमले मेथीबाढ़ीबाट मुख्य आरोपी राकेश राई उर्फ स्पाइडर म्यानलाई पक्राउ गऱ्यो।
पुलिस अधीक्षक प्रधानले आरोपी राकेश राई उर्फ स्पाइडर म्यान एक कुख्यात अपराधी रहेको र 1990 को दशकमा निकै सक्रिय थिए भनी बताएका छन्। आरोपी विरुद्ध पहिले पनि सिक्किम र सिलगढ़ीका अदालतहरूले धेरै जघन्य अपराधहरूमा दोषी ठहराएर सजाय सुनाइसकेको पनि उनले जानकारी गराएका छन्।
पुलिस अधीक्षकले कुख्यात अपराधीको पक्राउ गेजिङ जिल्ला पुलिसको लागि ठूलो सफलता हो भन्दै यसले कानून व्यवस्था कायम राख्न र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुलिसकर्मीहरूको अथक प्रतिबद्धतालाई दर्साउॅंछ भनेका छन्। उनले यस अपरेशनमा संलग्न सबै अधिकारी र पुलिसकर्मीहरूको समर्पित प्रयासको प्रशंसा गरेका छन्।
Leave a comment


