सोधपुछपछि फिर्ता पठाइयो रम्फू चेकपोस्टबाट
गान्तोक, 9 मार्चः गैर-कानुनी ढङ्गमा सिक्किम प्रवेश गरेकी दुई चिनियाँ मूलका अमेरिकी नागरिकलाई आज रम्फू पुलिस थानामा एफआरआरओ र सिक्किम पुलिसले सोधपुछ गरेर फर्काइदिएको छ। विशेष सूत्रबाट प्राप्त जानकारीअनुसार गत 14 फरवरीको दिन, दुई चिनियाँ मूलका अमेरिकी नागरिक 56 वर्षीय कर्मा डोल्मा र 31 वर्षीय तेञ्जिङ छोनीलाई रम्फू चेकपोस्टबाट फिर्ता पठाइएको थियो। ती दुई महिलाले सिक्किम प्रवेशका लागि भारत सरकारको गृह मन्त्रालयबाट अनुमति पाएका थिएनन्। उनीहरू त्यसपछि कालेबुङ गएका थिए र 20 फरवरीमा पुनः रम्फू चेकपोस्टलाई छल्दै सिक्किम प्रवेश गरेका थिए।
पछि ती दुई अमेरिकी नागरिक रूम्तेकमा आफ्ना नातेदारको घरमा बसोबास गरिरहेको एफआरआरओ (FRRO)- सिक्किमलाई थाहा लाग्यो। ती नातेदार रूम्तेक गुम्बाका शिक्षक रहेको थाहा लागेको छ। उक्त दुई महिलालाई रूम्तेक गुम्बामा तिब्बती लोसार पर्वमा सहभागी बनेका थिए।
सिक्किम प्रवेश गर्न उनीहरूसँग न त गृह मन्त्रालयको अनुमति (MHA Clearance) थियो, न त संरक्षित क्षेत्र अनुमति (Protected Area Permit – PAP) नै थियो। चिनियाँ मूलका विदेशी नागरिकहरू ‘प्राथमिक सन्दर्भ वर्ग’ (Prior Reference Category) अन्तर्गत पर्दछन्,जसअनुसार उनीहरूले गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ।
एफआरआरओ र सिक्किम पुलिसले यो खुला कानुनी उल्लङ्घनको तत्काल कारबाही गर्दै आज 9 मार्चको दिन रम्फू पुलिस थानामा ती दुई महिलासँग सोधपुछ गरी रम्फू चेकपोस्टबाट पुन: फिर्ता पठाएको छ।
यी दुई चिनियाँ मूलका अमेरिकी नागरिकले जानी-जानी सिक्किमका कानूनहरू उल्लङ्घन गरेका छन् र रूम्तेकमा रहेका तिनका नातेदारको सहयोगमा अवैध रूपमा सिक्किम प्रवेश गरेका हुन्। सिक्किम भारतको सीमावर्ती राज्य भएकोले यहाँका सबै नागरिक, विशेषगरी विदेशी नागरिकको आतिथ्य गर्नेहरूले, यस्तो अवैध प्रवेशको जानकारी तत्काल सुरक्षा निकायलाई दिन र कानूनको पालना गर्न पूर्ण सहयोग गर्न आवश्यक ठहर्दछ।