तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे
गान्तोक, 10 अप्रेल। तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले बिहीवार आफ्नो पदभार ग्रहण गरेका छन्। आज उनले नाम्ची जिल्लाको तिमीस्थित चिया कमानको प्रशासनिक खण्डअन्तर्गत आफ्नो कार्यालयमा अध्यक्ष पदको दायित्व ग्रहण गरे।
तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफूलाई यो गरिमामय पदमा योग्य ठानेर आसीन गराएकोमा मुख्यमन्त्री पीएस गोलेप्रति हार्दिक आभार प्रकट गरेका छन्। उनले तिमी चिया बोर्ड र आफ्नो व्यक्तिगत तर्फबाट यसरी जनताको सेवा गर्ने अवसर दिएबापत मुख्यमन्त्रीलाई आन्तरिक हृदयबाट धन्यवाद दिएका छन्।
मुख्यमन्त्रीले आफूलाई दिएको जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्ने उनले प्रतिज्ञा गरे। उनले चिया कमानले हालसम्म हासिल गरेको प्रगतिलाई कहिल्यै तल झर्न नदिने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
यसरी नै उनले चिया कमानलाई यो स्तरसम्म पुर्याउन योगदान पुर्याउने सम्पूर्ण पूर्व अध्यक्ष, प्रबन्ध निर्देशक, प्रबन्धक, सहायक प्रबन्धक र कर्मचारीहरूप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यस अवसरमा चिया कमानको सम्मेलन हलमा एक परिचयात्मक कार्यक्रम पनि आयोजन गरिएको थियो।

Leave a comment