
नाम्ची, 01 सेप्टेम्बर। नाम्ची-सिङ्गिथाङ निर्वाचन क्षेत्रमा सिक्किम गरिब आवास योजना (एसजीएवाई) अन्तर्गत नवनिर्मित चारवटा आवास सोमबार औपचारिक रूपमा उद्घाटन गरी लाभार्थीहरूलाई हस्तान्तरण गरिएको छ। नवनिर्मित आवासहरूको उद्घाटन क्षेत्र विधायक सतीश चन्द्र राईले गरेका थिए।
३४ बुमटार-सल्लेबुङ जीपीयू अन्तर्गत लोअर सल्लेबुङ वार्डका सागर तामाङ र रोशन कामी तथा ३२ मणिराम-फालिडॉंड़ा जीपीयू अन्तर्गत आले वार्डका आइतमान तामाङ र भञ्ज्याङ वार्डका कुलमान तामाङलाई नवनिर्मित आवास हस्तान्तरण गरिएको बीडीओ कार्यालयले बताएको छ।
नवनिर्मित आवासहरूको उद्घाटनमा क्षेत्र विधायक सतीश चन्द्र राई लगायत पूर्व अध्यक्ष टाशी दोर्जे तामाङ, विधायकका ओएसडी एसजे लेप्चा, नाम्चीका बीडीओ उपेन्द्र राई लगायत स्थानीय पञ्चायत अध्यक्ष र वार्ड पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो।
क्षेत्र विधायक राईले नवनिर्मित तथा सुविधासम्पन्न आवास प्राप्त गर्ने सबै लाभार्थीहरूलाई बधाई दिए। लाभार्थीहरूले योजनाअन्तर्गत आवास उपलब्ध गराएकोमा सिक्किम सरकार तथा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सिक्किम गरिब आवास योजना राज्य सरकारको एक महत्त्वपूर्ण पहल हो, जसको उद्देश्य आर्थिक रूपमा विपन्न परिवारहरूलाई आवश्यक सुविधासहितको आवास उपलब्ध गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु हो।


