गान्तोक, 30 जुलाई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको अनुसूचित जाति (एससी) मोर्चाले कथित सिङ्ताम पुलिस थानामा भएको पुर्ने दर्जीको मृत्युप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। मोर्चाले निष्पक्ष र पारदर्शी जाँचमार्फत यथाशीघ्र सत्य तथ्य सार्वजनिक होस् भनी माग गरेको छ।प्रदेश भाजपा एससी मोर्चा भोपाल बराइलीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हिरासतमा हुने प्रत्येक मृत्यु अत्यन्त गम्भीर विषय हो, जसबारे सत्य तथ्य स्थापित गर्न तथा कानुनी शासनको रक्षा गर्न निष्पक्ष, पारदर्शी र स्वतन्त्र जाँच आवश्यक हुन्छ। भाजपा सिक्किम एससी मोर्चाले सम्बन्धित निकायहरूलाई सीसीटीभी फुटेजसहित सबै सम्बन्धित प्रमाण तथा रेकर्डहरू सुरक्षित राख्न र हिरासतमा हुने मृत्यु सम्बन्धी प्रचलित कानुनी प्रावधान तथा लागू निर्देशिकाअनुसार जाँच कडाइका साथ अघि बढाउन आग्रह गर्दछ।पार्टीले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विश्वसनीय, निष्पक्ष र पारदर्शी जाँचमार्फत यथाशीघ्र सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।


