गान्तोक, 07 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको पोक्लोक-कामराङ निर्वाचन क्षेत्रस्तरीय समन्वय सभा आज पार्टीको जिल्ला कार्यालयमा एसीईसी अध्यक्ष सुर्ज भुजेलको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभा आगामी क्षेत्रस्तरीय सभालाई भव्य र प्रभावकारी बनाउन आवश्यक तयारी तथा सुझाउबारे छलफल गर्न आयोजित गरिएको थियो। सभामा पार्टी संगठनलाई थप सुदृढ़ बनाउने, पार्टीका नीति तथा अडानलाई आम नागरिकसम्म पुर्याउने तथा वर्तमान सरकारका गतिविधिबारे जनचेतना फैलाउने विषयमा पनि विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।आफ्नो अध्यक्षीय सम्बोधनमा सुर्ज भुजेलले लोकतान्त्रिक व्यवस्थामा विपक्षी दलको भूमिकामाथि प्रकाश पार्दै आम नागरिकको हितका लागि विपक्षले इमानदारीपूर्वक आवाज उठाउँदा मात्र न्याय सुनिश्चित हुने बताए। उनले विपक्ष सक्रिय भए मात्र लोकतन्त्र सुदृढ़ हुने उल्लेख गर्दै विपक्षमाथि ढुङ्गामुढा, मारपिट तथा प्रशासनको दुरुपयोगमार्फत दबाउ सिर्जना गर्ने कार्यले लोकतान्त्रिक मूल्य-मान्यताको उल्लङ्घन गरेको आरोप लगाए।उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न गर्ने अधिकार विपक्षको हुने तथा त्यसको जवाफ र पारदर्शिता सुनिश्चित गर्ने दायित्व सत्तापक्षको हुने बताए। तर, वर्तमान सरकारले उल्टै विपक्षमाथि प्रश्न उठाएर राज्यको छविलाई नै धूमिल बनाउने कार्य गरिरहेको आरोप पनि लगाए।उनले पार्टीका कार्यकर्ताहरूको मात्र नभई आफ्ना सन्तानले हिंसा र अराजकता भोग्न नपरोस् भन्ने चाहने, भयमुक्त समाज, समान न्याय, लोकतान्त्रिक अधिकार तथा समृद्ध र स्वस्थ सिक्किमेली समाजको पक्षमा उभिएका सबै नागरिकको पार्टी भएको बताए। उनले सिक्किम र सिक्किमेली जनतालाई सकारात्मक निकास दिन पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको पनि उल्लेख गरे।सभालाई नाम्ची जिल्ला अध्यक्ष स्टीफन गुरुङ ले पनि सम्बोधन गरेका थिए।


