गान्तोक, 28 दिसम्बर । भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीआर थापाको अगुवाइमा आज एक प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग शिष्टाचार भेट गरेको छ। प्रतिनिधिमण्डलमा प्रदेश महासचिव अर्जुन राई, कोषाध्यक्ष कैलाश अग्रवाल र गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा सामेल थिए। प्रतिनिधिमण्डलले हालै भाजपा राष्ट्रिय कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका नितिन नबिनलाई भाजपा सिक्किमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्यो। टोलीले राज्य निर्वाचन प्रभारीको रूपमा निर्वाह गरेको भूमिकाको उल्लेख गर्दै नबिनको गतिशील नेतृत्व र समृद्ध संगठनात्मक अनुभवको प्रशंसा गर्यो।यस भेटको क्रममा विशेष रूपमा सिक्किममा संगठनात्मक उपस्थितिलाई अझ सुदृढ़ बनाउने रणनीति र चुनौतीहरूबारे विचार–विमर्श गरिएको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ। साथै, राज्यमा भाजपाको वर्तमान कार्यप्रणालीको समीक्षा गर्दै संगठनात्मक आधार थप सुदृढ़ बनाउन समन्वय, सहयोग र मार्गदर्शनको आवश्यकतामाथि जोड दिएको बताइएको छ।भाजपा टोलीले आगामी दिनहरूमा संगठनलाई थप सशक्त बनाउन तथा पार्टी कार्यकर्ताहरूलाई ऊर्जावान बनाउन नितिन नबिनलाई यथाशीघ्र सिक्किम भ्रमणका लागि हार्दिक निमन्त्रणा गरेको छ। यस भेटले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा अझ सशक्त र जीवन्त पार्टी संरचनाको दृष्टिकोणअनुसार राज्यमा समावेशी विकास र मजबूत संगठनात्मक विस्तारप्रति भाजपाको प्रतिबद्धता झल्काउँछ भनी बताइएको छ।


