गान्तोक, 02 सेप्टेम्बर। नाम्ची जिल्लाको मामरिङमा स्थानीय एउटा बिल्डिङबाट एक महिलाको शव भेटिएको छ। यस घटनाले क्षेत्रमा हलचल मचिएको छ। मृतक महिलाको पहिचान 30 वर्षीय सीता छेत्रीको रूपमा भएको छ। उनी सोरेङ जिल्ला निवासी थिइन् भने बेपत्ता बनेकी थिइन्।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, मामरिङ निवासी तारा गुरुङले आफ्नो चार तले बिल्डिङको एउटा कोठाबाट दुर्गन्ध आउन थालेपछि पुलिस थानामा एफआईआर दर्ता गराएका थिए। सूचनाको आधारमा पुलिस दलले कारबाही शुरू गरेपछि उक्त कोठाभित्रबाट एउटी महिलाको शव फेला पाऱ्यो। उक्त कोठा लगभग दुई महिनादेखि बन्द रहेको बताइएको छ।
पछि, जॉंच पडतालमा महिलाको पहिचान सोरेङ जिल्ला निवासी 30 वर्षीय सीता छेत्रीको रूपमा भयो। उनले विगत एक वर्षदेखि सोही बिल्डिङमा दोकान चलाउॅंदै आएकी थिइन्।
फोरेन्सिक टीम, फिङ्गरप्रिन्ट एक्सपर्ट र क्राइम ब्राञ्च फोटोग्राफरले घटना स्थलको जॉंच गरेको थाहा लागेको छ। मृतकका परिवारहरूको उपस्थितिमा नामथाङका एसडीएमले गरेको जॉंच अवधि एउटा ब्लेड भेटिएको छ भने महिलाको हातको नाडीमा काटेको दाग पनि देखिएको बताइएको छ। शव कुहिन थालेको अवस्थामा पाइएको छ र पोस्टमार्टमको लागि एसटीएनएम अस्पताल पठाइएको छ।
पुलिसले यस घटनाको सम्बन्धमा भारतीय नागरिक सुरक्षा संहिता, 2023 का सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
Leave a comment


