
पाकिम, 15 अक्टोबर। मुख्यमन्त्री पीएस गोलेले आज पाकिम जिल्लाको लुङ्चोकमा ‘होलिस्टिक इन्स्टिच्युट अफ् आयुर्वेद एन्ड वेलनेस सेन्टरको शिलान्यास गरेका छन्। सिक्किम सरकारको आयुष विभागद्वारा आयोजित यस कार्यक्रमले राज्यमा आयुष पूर्वाधारलाई सुदृढ़ पार्ने र समग्र स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ।यस अवसरमा मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, पाकिम जिल्लाका अध्यक्ष तथा उपाध्यक्ष, मेयर, विभिन्न विभागका अध्यक्षसहित अन्यको उपस्थिति रहेको थियो।कार्यक्रमको क्रममा मुख्यमन्त्री गोलेले छुजाचेन निर्वाचन क्षेत्रमा होलिस्टिक इन्स्टिच्युट अफ् आयुर्वेद एन्ड वेलनेस सेन्टर स्थापना भएकोमा त्यहाँका बासिन्दाहरूलाई बधाई दिए। उनले यस परियोजनालाई साकार पार्नका लागि आयोजक विभाग र विभिन्न सरोकारवालाहरूले गरेको प्रयासको पनि सराहना गरे।मुख्यमन्त्रीले यो परियोजनाले परम्परागत स्वास्थ्य सेवालाई सुदृढ़ पार्नुका साथै ‘वेलनेस टुरिजम’ (स्वास्थ्य तथा कल्याण पर्यटन) लाई पनि प्रवर्द्धन गर्ने बताए। उनले रोग रोकथाममा आधारित स्वास्थ्य सेवा र जनहितका लागि राज्य सरकार प्रतिबद्ध रहेको कुरामा जोड़ दिए।मुख्यमन्त्रीले राज्य सरकारद्वारा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा अघि बढ़ाइएका विभिन्न विकासमूलक पहलबारे प्रकाश पारे। निर्वाचन क्षेत्रमा प्रस्तावित र जारी कामहरूको सन्दर्भ उल्लेख गर्दै उनले स्थानीय विकासलाई टेवा पुर्याउन र पर्यटन प्रवर्द्धन गर्न सड़क सम्पर्क, मरम्मतसम्भार र सुधारको महत्त्वमा जोड़ दिए।उनले सरकारी कर्मचारी, समाजका विपन्न वर्ग, आशा कार्यकर्ता र आँगनवाड़ी कार्यकर्ताहरूका लागि राज्य सरकारले चालेका विभिन्न कल्याणकारी कदमबारे चर्चा गरे। सिक्किम आमा सशक्तिकरण योजनाको उल्लेख गर्दै उनले हालै यस योजनाअन्तर्गत वितरण गरिएको सहायताबारे अवगत गराए र सरकारले यसको दायरा अझ धेरै लाभग्राहीसम्म विस्तार गर्ने योजना बनाएको जानकारी दिए। यसका साथै उनले जोखिममा रहेका परिवारहरूलाई सहयोग पुर्याउने र उनीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएका पहलमाथि पनि प्रकाश पारे। आवासको विषयमा बोल्दै मुख्यमन्त्रीले सिक्किम गरीब आवास योजनाअन्तर्गत आवासहरू छिट्टै लाभग्राहीलाई हस्तान्तरण गरिने जानकारी दिए। यस क्रममा तत्काल सहयोग आवश्यक पर्नेहरूलाई प्राथमिकता प्रदान गरिने उनले बताए। उनले सरकारले यस योजनाको दायरा विस्तार गरी थप लाभग्राहीलाई समेट्ने योजना बनाएको पनि बताए।यसका साथै मुख्यमन्त्रीले राजस्व र पूँजीगत खर्चबारे चर्चा गर्दै प्रभावकारी वित्तीय व्यवस्थापनको महत्त्वमा जोड़ दिए। उनले कार्य संस्कृति, समयको पाबन्दी, समय व्यवस्थापन र कर्तव्यप्रतिको समर्पणको महत्त्वलाई पनि विशेष जोड़ दिए।पश्चिमी देशहरूमा रहेको श्रमको सम्मानको अवधारणालाई उल्लेख गर्दै उनले सबै प्रकारका कामलाई पहिचान र सम्मान गर्ने प्रणाली विकास गर्न तथा यसलाई विद्यमान कार्य संस्कृतिमा समाहित गर्न आह्वान गरे। प्रस्तावित ‘वेलनेस सेन्टर’ मा रोजगारीको सम्भावनालाई औँल्याउँदै मुख्यमन्त्रीले सम्बन्धित निकायहरूलाई त्यहाँ काम गर्न आवश्यक तालिमको व्यवस्था गर्न आग्रह गरे। उनले केन्द्रको सञ्चालनका लागि स्थानीय जनशक्ति विकास गर्नु महत्त्वपूर्ण रहेको बताए।मुख्यमन्त्रीले जन भेटघाट कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा तीनदिने भ्रमण गर्ने जानकारी पनि दिए। यस भ्रमणको उद्देश्य सर्वसाधारणसँग अन्तरक्रिया गर्नु, उनीहरूका समस्या सुन्नु र आवश्यकताहरू बुझ्नु हो।मुख्यमन्त्रीले स्थानीय समुदाय, सरकारी अधिकारी र अन्य हितधारकहरूलाई होलिस्टिक इन्स्टिट्युट अफ् आयुर्वेद एण्ड वेलनेस सेन्टरलाई एक प्रमुख वेलनेस गन्तव्यको रूपमा विकास गर्न सामूहिक रूपमा काम गर्न आह्वान गरे।


