गान्तोक, 10 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित एनडीएको बैठकमा सहभागी बने। यस अवसरमा उनले प्रधानमन्त्री मोदीलाई भारतको लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिए। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
प्रधानमन्त्री मोदीले पण्डित जवाहरलाल नेहरूको ४,३९८ दिनको रेकर्डलाई उछिनेर भारतको लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको बताएका छन्। यो उल्लेखनीय उपलब्धीले प्रधानमन्त्रीप्रति जनताको अटल विश्वास, उनको दूरदर्शी नेतृत्व र राष्ट्र निर्माणप्रतिको अथक समर्पणलाई प्रतिबिम्बित गर्दछ भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको २०४७ सम्ममा विकसित भारतको परिवर्तनकारी दृष्टिकोणलाई प्रकाश पार्दै उनको नेतृत्वमा भारतीयहरूको यो सामूहिक आकांक्षा साकार हुनेछ विश्वास व्यक्त गरे। पूर्वोत्तरको विशेष उल्लेख गर्दै उनले यस क्षेत्रप्रतिको उनको अटल प्रतिबद्धताको लागि कृतज्ञता व्यक्त गरे। उनले प्रधानमन्त्रीको नेतृत्वमा पूर्वोत्तर आज अवसर, विकास र प्रगतिको केन्द्रको रूपमा देखा परेको बताए।
प्रधानमन्त्रीले यस क्षेत्रलाई “अष्ट लक्ष्मी” को रूपमा मान्यता दिएर यसको कद उच्च पारेको र भारतको विकास यात्रामा यसले केन्द्रिय स्थान ओगटेको बताएका छन् यसैगरी, उनले सिक्किमको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्रीको भ्रमण राज्यका जनताका लागि ठूलो गर्वको विषय बनेको बताएका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको नेतृत्वमा एनडीएको उल्लेखनीय वृद्धि भएको र स्वर्गीय अटल बिहारी वाजपेयीको कार्यकालमा २५ दलको गठबन्धन आज ३९ दलको बलियो गठबन्धनमा परिणत बनेको बताए। उनले सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्रीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै भारतलाई विकसित राष्ट्र र विश्वगुरु बन्ने दिशामा उनको निरन्तर सुस्वास्थ्य, दीर्घायु र शक्तिको लागि प्रार्थना गरेको बताएका छन्।
Leave a comment


