गान्तोक, 09 अक्टोबर। मुख्यमन्त्री पीएस तामाङले शुक्रवार योकसम-टाशीडिङ निर्वाचन क्षेत्रअन्तर्गत पैह्रो प्रभावित क्षेत्र रिम्बीको भ्रमण गरेका छन्। उनले त्यहाँको वस्तुस्थिति बुझ्नुका साथै प्रभावित परिवारहरूका लागि भइरहेका राहत तथा पुनर्स्थापना कार्यहरूको समीक्षा गरे।मुख्यमन्त्रीले पहिला पैह्रो प्रभावित स्थल र त्यसपछि निर्माणाधीन पुनर्स्थापना केन्द्रको निरीक्षण गरे। त्यसपछि उनी राहत शिविर पुगे, जहाँ उनले प्रभावित परिवारहरूसँग अन्तरक्रिया गर्दै उनीहरूका समस्याहरू सुने र तत्कालका नितान्त आवश्यकताहरूको जानकारी लिए।भ्रमणको क्रममा मुख्यमन्त्रीसँग पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री एवं योकसम-टाशीडिङ निर्वाचन क्षेत्रका विधायक छिरिङ टी भोटिया, आवास तथा भवन निर्माण विभागका मन्त्री भीमहाङ सुब्बा, जूम-सालघारीका विधायक मदन सिञ्चुरी, मानेबुङ-देन्तामका विधायक सुदेश सुब्बा र नामथाङ-रातेपानीका विधायक सञ्जित खरेलको उपस्थिति रहेको थियो।उनीहरूसँगै गेजिङका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङ्पा, वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) पारु रुचाल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकारगण, गेजिङका जिल्ला अध्यक्ष र जिल्ला उपाध्यक्ष, विभिन्न विभागका सचिव तथा प्रमुख, विशेष कर्तव्य अधिकारीहरू (ओएसडी), महकुमा अधिकारीगणसहित अन्यको उपस्थिति रहेको थियो।राहत शिविरमा प्रभावित परिवारहरूसँगको अन्तरक्रियाका क्रममा मुख्यमन्त्रीले यसअघि उक्त क्षेत्रको भ्रमण गर्न नसकेकोमा दुःख व्यक्त गरे। उनले घटनास्थलमा भौतिक रूपमा चाँड़ै उपस्थित हुन नसके तापनि, आफूले सम्बन्धित क्षेत्रका विधायक र जिल्ला प्रशासनलाई तत्काल भ्रमण गर्न तथा प्रभावित मानिसहरूलाई आवश्यक सहयोग सुनिश्चित गर्न निर्देशन दिएको बताए। मुख्यमन्त्रीले यस कठिन घड़ीमा रिम्बीका बासिन्दाहरूलाई सहयोग गर्न अघि बढ़ेका गैरसरकारी संस्थान (एसजीओ), मन्त्रीगण, ओएसडी र अन्य व्यक्तिहरूप्रति आभार व्यक्त गरे। स्थानीय बासिन्दाहरूले भोग्नुपरेको जमिन र घरको व्यापक क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले यस विपदको घड़ीमा कुनै मानवीय क्षति नभएको पनि बताए।प्रभावित परिवारहरूलाई सरकारको निरन्तर सहयोग रहने आश्वासन दिँदै मुख्यमन्त्रीले उनीहरूको जीवन पुनःनिर्माण गर्न सम्भव भएसम्मको सबै सहयोग उपलब्ध गराइने आश्वासन दिए। उनले जानकारी दिएअनुसार, घर गुमाएका परिवारहरूलाई राज्य सरकारको ‘सिक्किम गरीब आवास योजना’ (एसजीएवाई) अन्तर्गत घरहरू उपलब्ध गराइनेछ भने जमिन गुमाएकाहरूलाई जमिनको व्यवस्था गरिनेछ। उनले परिवारहरूलाई करेसाबारी लगाउन र पशुपालन गर्न सक्षम बनाउन पर्याप्त ठाउँसहितको उपयुक्त जमिन उपलब्ध गराउने विषयमा पनि विचार गरिनेछ, जसले उनीहरूको दीर्घकालीन जीविकोपार्जनका आवश्यकताहरू पूरा गर्न सहयोग पुर्याउनेछ।मुख्यमन्त्रीले प्रभावित परिवारहरूका लागि ‘मुख्यमन्त्री राहत कोष’ (सीएमआरएफ) बाट निम्नअनुसारको आर्थिक सहयोगको घोषणा पनि गरे।उनले पूर्ण रूपमा क्षति भएका घरहरूका लागि प्रति घर पाँच लाख रुपियाँ, भान्साकोठा पूर्ण रूपमा क्षति भएका परिवारहरूका लागि प्रति परिवार 2 लाख रुपियाँ, अन्य प्रभावित व्यक्तिहरूका लागि प्रति व्यक्ति एक लाख रुपियाँ, भाड़ामा बस्ने आपदा प्रभावितहरूका लागि प्रति व्यक्ति 50 हजार रुपियाँ प्रदान गरिने घोषणा गरे।यसका साथै उनले सम्बन्धित सबै विभागलाई आवश्यक कार्यहरू द्रुत गतिमा अघि बढ़ाउन र प्रभावित क्षेत्रमा सेवाहरू समयमै पुनर्स्थापना सुनिश्चित गर्न निर्देशन दिए। समन्वयात्मक प्रयासको महत्त्वमा जोड़ दिँदै उनले आपदाबाट उत्पन्न चुनौतीहरूको सामना गर्न र प्रभावित परिवारका आवश्यकताहरू ढिलाइ नगरी पूरा गरेको सुनिश्चित गर्न सम्बन्धित विभागहरूलाई आपसी समन्वयमा काम गर्न निर्देशन दिए।रिम्बीका जनताको साथमा रहने सरकारको प्रतिबद्धता दोहोर्याउँदै मुख्यमन्त्रीले प्रभावित परिवारहरूलाई आवश्यक परेको खण्डमा सबै प्रकारको सहयोग उपलब्ध गराइने (जसमा घर र जमिन गुमाएकाहरूका लागि आवास र जमिनको व्यवस्था पनि समावेश छ) आश्वासन दिए। अन्त्यमा, उनले यस कठिन समयमा राहत र सहयोग कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबै व्यक्ति, संस्था र निकायहरूप्रति कृतज्ञता व्यक्त गरे।


