गान्तोक, 04 फरवरी। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) मोर्चा पार्टीले आज रम्फूको खेलमैदानमा आफ्नो 14औं स्थापना दिवस भव्य रूपमा मनायो। राज्यका छवटै जिल्लाबाट हजारौंको संख्यामा आएका एसकेएम कार्यकर्ताहरू र समर्थकहरूको उपस्थितिमा आयोजित स्थापना दिवस समारोहमा मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू, सल्लाहकारगण र अध्यक्षगणहरूको पनि उपस्थिति रह्यो।
कार्यक्रमको शुरुवात चारवटा महत्वपूर्ण प्रस्ताव पेश एवं ग्रहणका साथ गरियो, जसमा परमपावन 17औं कर्मापा उगेन थिन्ले दोर्जीको सिक्किम भ्रमणलाई सहज बनाउनु, सिक्किम विधानसभामा लिम्बू र तामाङ जनजाति समुदायका लागि आसन आरक्षण, छुटेका 12 समुदायहरूलाई जनजातिको मान्यता दिलाउनु र भोटिया, लेप्चा अनि लिम्बू भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नु रहेका थिए।
यसपछि, कार्यक्रममा एसकेएम पार्टीका कार्यकारी अध्यक्ष एवं पूर्व मन्त्री कुङ्गा निमा लेप्चालाई अभिनन्दित गरियो। लेप्चाले एसकेएम पार्टी विपक्षमा छॅंदा दिएको योगदान र नेतृत्वको सम्मानमा गर्दै उनलाई मुख्यमन्त्रीको बाहुलीद्वारा अभिनन्दित गरियो।
एसकेएमको 14औं स्थापना दिवस कार्यक्रममा विभिन्न विपक्षी राजनीतिक दलका नेतृत्वहरू पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भए। सामेल हुने सबै नयॉं सदस्यहरूलाई मुख्यमन्त्रीले स्वागत जनाए। एसकेएम पार्टीमा सामेल हुनेहरूमा पूर्व राज्य सभा सांसद हिस्से लाचुङ्पा, पूर्व मन्त्री सोनाम ग्याछो लेप्चा, पूर्व मन्त्री दाउछो लेप्चा, पूर्व मन्त्री छिरिङ वाङ्दी लेप्चा, पूर्व विधायक बेग बहादुर राई, पूर्व विधायक बिनोद राई, पूर्व विधायक नोरजाङ लेप्चा, पूर्व विधायक उगेन नेडुप भोटिया र पूर्व विधायक मिचुङ भोटिया आदि सामेल छन्।
यसै क्रममा एसडीएफ पार्टीकी वरिष्ठ नेतृ सकुन गुरुङ, जुडी राई, दिलीप राई, चन्द्र खालिङ, पूर्व सीएपी सदस्य एलपी काफ्ले लगायत अन्यहरू पनि एसकेएममा सामेल भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टीको क्रान्ति अझै पनि रोकिएको छैन र यो क्रान्ति सिक्किम पूर्ण रूपमा विकसित राज्य बनेसम्म जारी रहने बताए। उनले ‘मिशन 29’ को लागि गरीब जनतासॅंग जोडिएर काम गर्न कार्यकर्ताहरूलाई आह्वान पनि गरे। उनले एसकेएमको ‘मिशन 29 भनेको ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ बनाउने मिशन हो भनी बताए।
एसकेएम अध्यक्षले जन आन्दोलनबाट शुरू भएको एसकेएम पार्टी आज जन सरकारसम्म पुग्नुमा प्रत्येक क्रान्तिकारीहरूको योगदान रहेको उल्लेख गरे। उनले सिटिजन एक्सन पार्टी (सीएपी) का अध्यक्ष गणेश कुमार राईको पनि तीखो आलोचना गरे। सीएपी अध्यक्षले आफूलाई देशद्रोहीको आरोप लगाएको उल्लेख गर्दै आफ्नो आरोप प्रमाणित गर्न उनले राईलाई चुनौती दिए। उनले सिक्किममा अन्याय र अत्याचारले पराकाष्ठा पार गर्दा त्यस समय गणेश राई पवन चामलिङको विकल्प छैन भन्दै गुनगान गरिरहेका थिए भनी बताए। सीएपी अध्यक्षले विद्यार्थीहरूलाई पढाई ड्रप गर्न गरेको आह्वानप्रति पनि उनले कडा प्रतिक्रिया व्यक्त गरे।
मुख्यमन्त्री आफ्नो सम्बोधनमा आगामी अप्रेल महिनादेखि राजधानीमा पिङ्क सिटी रनर बस चलाउने, एसटीएनएम अस्पतालमै किडनी ट्रान्सप्लान्ट गर्ने व्यवस्था गरिने र 2024 देखि यता नोकरीमा लागेकाहरू सबैलाई 2028 अघि रेगुलर गर्ने पनि घोषणा गरे।
Leave a comment


