गान्तोक, 09 अक्टोबर। राजधानीको पाल्जोर स्टेडियममा जारी ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा गोकुलम केरला एफसीले सुदेवा दिल्लीलाई २-१ गोलले पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा गोकुलम केरलाले प्रतिद्वन्द्वी दललाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।केरलाका तर्फबाट जर्सी नम्बर ७ भिक्टरले खेलको ६३औँ र ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। सुदेवा दिल्लीका तर्फबाट जर्सी नम्बर १८ सुआन्तक भोइफेईले खेलको ६६औँ मिनेटमा एक गोल फर्काए।प्रतियोगिताअन्तर्गत भोलि, १० अक्टोबरमा दोस्रो क्वार्टरफाइनल खेल सिङ्लिङ एससी र नर्थ इस्ट युनाइटेडबीच हुनेछ। उक्त खेल पाल्जोर स्टेडियममा फ्लडलाइटमा साँझ ६ बजीदेखि शुरु हुनेछ। सिङ्लिङ एससीले प्रि-क्वार्टरफाइनल खेलमा ओयल एफटी असमलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो। अर्कोतर्फ, नर्थ इस्ट युनाइटेडले भोलि प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछ।


