मङ्गन, ०४ अक्टोबर। उत्तर सिक्किमको चर्चित पर्यटकीय स्थलहरूमा यात्रा गर्दा अथवा विभिन्न प्राकृतिक आपदाको समयमा उद्धार कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई नर्थ सिक्किम टुरिस्ट ट्याक्सी डाइभर्स वेलफेयर एसोसिएशनले सम्मान र प्रमाणपत्र वितरण गरेको छ।
मङ्गन जिल्ला प्रशासनको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपा मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा पैह्रो, सड़क बन्द हुँदा तथा वाहन दुर्घटना र अन्य भवितव्यमा स्वयं सेवकको रूपमा तथा संगठनको कार्यकर्ताको रूपमा योगदान दिने 65 जनालाई प्रशंसा पत्र र सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्य अतिथि लाचुङपाले एसोसिएशनले सधैँ असल कार्य गर्दै आएको तथा विभागको तर्फबाट आवश्यक साथ र सहयोग सधैँ प्रदान गर्ने बताए। उनले एसोसिएशनले गरिरहेको कार्यहरूको सराहना गरे। आफ्नो पक्षबाट हुने सबै सहयोग निरन्तर रूपमा प्रदान गर्ने आश्वासन पनि दिए।
एसोसिएशनका महासचिव दुर्गा प्रसाद गुरागाईले सञ्चालन गरेको कार्यक्रममा चेयरमेन राम कुमार दर्जीले आभार प्रकट गरेका थिए। कार्यक्रममा मङ्गन थाना प्रभारी डीपी लिम्बू, आरटीओ तेम्पा रुजिङ भोटिया, ब्रान्ड एम्बासेडर एनटी लेप्चा, पर्यटन विभागका अतिरिक्त निर्देशक काजी शेर्पा, जिल्ला अस्पतालका चिकित्सक डा पन्दिम लेप्चाको उपस्थिति रहेको थियो।
Leave a comment


