नाम्ची, 15 अप्रेल। केन्द्रिय जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेले आज आफ्नो आधिकारिक भ्रमणको क्रममा सुन्तलेस्थित एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) को भ्रमण गरे। आफ्नो भ्रमण अवधि उनले कक्षाकोठा र अन्य विद्यालय सुविधाहरूको निरीक्षण गरे।
ईएमआरएसका प्रधानाध्यापक डा. अमर कान्ति जनाले विद्यालय र यसको प्रगतिको बारेमा पावरपोइन्ट प्रस्तुतिको माध्यमद्वारा जानकारी गराए। शिक्षण तथा प्रशासनिक कर्मचारीहरूलाई सम्बोधन गर्दै केन्द्रय राज्यमन्त्रीले विद्यार्थीहरूलाई आवश्यक जीवन कौशलहरू विकास गर्न र आत्मनिर्भरता प्रवर्द्धनको निम्ति कृषि र व्यवस्थापन गतिविधिहरूमा संलग्न गराउन सुझाउ दिए। उनले विद्यार्थीहरूको शारीरिक र मानसिक कल्याणलाई समर्थन गर्न पौष्टिक खाना उपलब्ध गराउन प्रोत्साहित गरे। उनले ईएमआरएसलाई देशको एक अग्रणी संस्थाको रूपमा विकास गर्ने लक्ष्य व्यक्त गर्दै विभिन्न प्रतिस्पर्धात्मक क्षेत्रहरूमा भाग लिन विद्यार्थीहरूलाई तयार पार्ने पहलहरूको वकालत गरे।
तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रिय राज्यमन्त्रीले भोलिदेखि सोरेङ जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।
केन्द्रिय राज्यमन्त्री उइकेको भ्रमण अवधि विधायक एनबी प्रधान, जिल्ला अध्यक्ष अञ्जिता राजालिम, समाज कल्याण विभागकी सचिव सारिका प्रधान, विभागकी विशेष सचिव सुमन गुरुङ, जिल्लापाल अनुपा तामलिङ आदि पनि उपस्थित थिए।
