नाम्ची, 16 अप्रेल। राबोङलामा आयोजित ‘राबोङ छो-जो महोत्सव 2025’ समाप्त भएको छ। समापन समारोहमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा सहभागी बने।
समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले बर्फुङ निर्वाचन क्षेत्रको प्राकृतिक सौन्दर्य, परिदृश्य र यहॉंका जनताको न्यानो आतिथ्यको प्रशंसा गर्दै बर्फुङलाई एक अग्रणी पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न यी गुणहरूलाई उपयोग गर्न प्रोत्साहित गरे। सांस्कृतिक उत्सवहरूले धरोहरहरूको मात्र प्रदर्शन गर्दैन, तर आत्म-स्थिरताको लागि एक उपकरणको रूपमा काम गर्दै पर्यटकीय गन्तव्यको रूपमा देखा पर्दछ भनी उनले बताए।

मुख्यमन्त्रीले भलिबल जस्तो खेललाई प्रवर्द्धन गरेकोमा र युवाहरूलाई यस खेलमा आफ्नो रुचि जगाउन अवसर प्रदान गरेकोमा आयोजक समितिको प्रशंसा गरे। उनले गान्तोक गट ट्यालेन्टको सफलताको उल्लेख गर्दै उक्त कार्यक्रमले सिक्किमका युवाहरूमा रहेको अपार सम्भावनालाई प्रकाश पारेको अवगत गराए। यस क्रममा उनले स्थानीय कलाकारहरू र प्रतिभा विकास पहलहरूलाई सरकारको पूर्ण समर्थन रहेको बताए।
