पाकिम, 24 अप्रेल। पाकिममा आज जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन गरियो। अतिरिक्त जिल्लापाल कार्यालयले जिल्ला योजना कार्यालय, जिल्ला, खण्ड विकास कार्यालय, ग्रामीण विकास विभागको समन्वयमा आयोजना गरेको कार्यक्रममा ग्रामीण विकास विभागकी सल्लाहकार एवं विधायक कला राई मुख्य अतिथि थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कला राईले सुनौलो, समृद्ध र समर्थ सिक्किमको दृष्टिकोणलाई साकार रूप प्रदान गर्न पञ्चायतहरूलाई आफ्नो कर्मद्वारा उदाहरण प्रस्तुत गर्न आह्वान गरिन्। गरीबी उन्मूलनमाथि बोल्दै उनले युवाहरूलाई उद्यमिता अपनाउन आह्वान गरिन्।
यस अघि जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले गाउॅंको विकासमा ग्राम र जिल्ला पञ्चायतको भूमिकामाथि प्रकाश पारिन्। उनले पाकिमलाई एउटा आदर्श जिल्ला बनाउने सबैलाई सामूहिक प्रयासको निम्ति आह्वान गरिन्।
यसरी नै एडीसी रबिन प्रसाद सेवाले सिक्किममा पञ्चायती राज अधिनियमबारे जानकारी गराए। उनले सिक्किमको घट्दो जनसंख्या र कृषि भूमि पुनरुद्धार जस्ता चुनौतीहरूमाथि पनि प्रकाश पारेका थिए।
यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको मधुबनी, बिहारबाट राष्ट्रका ग्राम सभाहरूलाई सम्बोधनको प्रत्यक्ष प्रसारण पनि प्रदर्शित गरिएको थियो। कार्यक्रममा जिल्ला, पञ्चायत सदस्यहरू र विभागीय अधिकारीहरूलाई सम्मानित गरिएको थियो।

Leave a comment