गान्तोक, 12 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली साहित्य जगतका एक यशस्वी स्रष्टा, कुशल गीतकार तथा राष्ट्रप्रेमी महान व्यक्तित्व पद्मश्रीले सम्मानित गरुडसिंह लामा (सानु लामा) को निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो शोक सन्देशमा सानु लामाको नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको संवर्द्धनमा समर्पित जीवनले हामी सबैको मनमा गहिरो छाप छोडेको बताएका छन्। उनले उहाँको सृजनात्मक प्रतिभा, गीतात्मक सौन्दर्य, र नेपाली साहित्यप्रतिको समर्पणले सिक्किमको साहित्यिक परम्परालाई समृद्ध बनाउँदै राष्ट्रियस्तरमै गौरव बढाएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले स्व. लामाको अमर कृति- ‘जहाँ बग्छ टिस्टा रंगीत’ हामी सबैको हृदय-स्पन्दनमा सदैव प्रतिध्वनित भइरहनेछ भनेका छन्। उनले सम्पूर्ण सिक्किमवासी जनताहरूको तर्फबाट साथै आफ्नो व्यक्तिगत तर्फबाट साहित्यका एक उज्ज्वल सीतारा, पद्मश्री स्व. लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवार, आत्मीयजन तथा समस्त प्रशंसकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
मुख्यमन्त्रीले सिक्किम राज्यको मात्र नभएर साहित्यिक जगतमा यो एउटा अपूरणीय क्षति हो भन्दै उहाँको विरासतले भावी पुस्ताहरूलाई सदा प्रेरित गरिरहनेछ भनी उल्लेख गरेका छन्। मुख्यमन्त्रीले दिवंगत आत्मालाई चिरशान्ति प्राप्त होस् भनी ईश्वर समक्ष विनम्र प्रार्थना पनि गरेका छन्।
Leave a comment


