
पाकिम, 12 दिसम्बर । प्राचीन मार्गको पुनर्जीवन थीममा “सिक्किम– द सिल्क रुट ड्राइभ” शुभारम्भ भएको छ, जसमा १७ वटा सुपरकारहरू आकर्षणको केन्द्र रहेको छ। रम्फूको अटल सेतु पुलबाट आज यी सुपरकारहरूलाई औपचारिक रूपमा झण्डा देखाएर राजधानी प्रस्थान गराइयो।
यस अवसरमा पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, विभागकी सचिव होण्डाला ग्याल्छेन र एपीएस (गान्तोक) छिरिङ वाङचुक लेप्चा विशेष रूपमा उपस्थित थिए।
सुपर कार र्याली, स्व-वित्त पोषित र स्व-सञ्चालित पहल, भारतीय सेनाको त्रिशक्ति कोरको तत्वावधानमा सिक्किम सरकार र ब्ल्याक क्याट डिभिजनसँगको सहकार्यमा आयोजना भइरहेको छ भने यसको अगुवाई मुम्बईस्थित सुपर कार रुट समूहले गरिरहेको छ।
आगामी तीन दिनको अवधिमा यी कारहरूले राज्यका प्रमुख स्थानहरूको यात्रा गर्नेछन्, जसको उद्देश्य सिक्किमलाई भारतको रमणीय र उत्कृष्ट मोटरिङ अनुभवहरूको लागि प्रिमियम गन्तव्यहरू मध्ये एकको रूपमा स्थापित गर्नु बताइएको छ।
कार्यक्रममा रम्फू नगर पञ्चायतका पार्षद पिंकु कुमार प्रसाद रम्फूका एसडीएम सुजाता सुब्बा, पर्यटन तथा नागरिक उड्डयन विभागका अधिकारीहरू, साथै विभिन्न लाइन विभागहरू, संस्थाहरूका अधिकारीहरू र जनसाधारण उपस्थित थिए।


