गान्तोक, 08 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको पञ्चायती राज प्रकोष्ठले राज्यमा प्रकोष्ठको कार्यप्रणालीलाई थप सुदृढ़ गर्दै पञ्चायती राज संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले आज सिङ्तामस्थित राज्य पार्टी कार्यालयमा समन्वय बैठक आयोजना गर्यो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, पञ्चायती राज प्रकोष्ठका राज्य संयोजक किशोर कुमार राई तथा प्रकोष्ठका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टीको विचारधारा तथा जमीनी तहको लोकतन्त्रलाई सुदृढ़ बनाउन पञ्चायती राज प्रकोष्ठको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारे। उनले पञ्चायती राज संस्थाहरूलाई सुदृढ़ बनाउन, पार्टीको जमीनी तहको संगठनात्मक सञ्जाल विस्तार गर्न तथा गाउँ र पञ्चायत तहमा जनतासँग अझ प्रभावकारी सम्पर्क स्थापित गर्न समर्पण र प्रतिबद्धताका साथ काम गर्न पदाधिकारीहरूलाई आग्रह गरे।थापाले पञ्चायत प्रतिनिधिहरूसँग बलियो समन्वय कायम राख्दै स्थानीय समस्याहरू बुझ्न तथा जमीनी तहका जनताका सरोकारहरूलाई सम्बन्धित निकायसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए। उनले विकास तथा जनकल्याणकारी योजनाहरूबारे जनचेतना फैलाउन, सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न तथा पारदर्शी, जवाफदेही र जनसहभागितामूलक स्थानीय शासन व्यवस्थामा योगदान पुर्याउन प्रकोष्ठलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।यसअघि, राज्य संयोजक किशोर कुमार राईले पञ्चायती राज प्रकोष्ठका नवनियुक्त पदाधिकारीहरूको परिचय गराउँदै हालसम्म प्रकोष्ठले गरेका गतिविधि तथा कार्यप्रणालीबारे जानकारी गराए। समन्वय बैठकअघि याङथाङ निर्वाचन क्षेत्रका पाँच परिवार औपचारिक रूपमा भारतीय जनता पार्टीमा प्रवेश गरेकाे प्रेस विज्ञप्तिमा जनाइएको छ।


