गान्तोक, 05 फरवरी । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) लाई पार्टीका वरिष्ठ नेतृत्वहरूले छोड्ने क्रम रोकिने नाम लिएको छैन। एसडीएफका धेरै वरिष्ठ नेतृत्वहरू सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्।
यसै क्रममा एसडीएफकी वरिष्ठ नेतृ एवं पूर्व मन्त्री डा. निरु सेवाले पनि एसडीएफबाट राजीनामा दिएकी छन्। उनले पार्टीको प्राथमिक सदस्यता साथै पार्टीमा आफूले सम्हालेका सबै पद र जिम्मेवारीहरूबाट राजीनामा दिएकी छन्। डा. सेवाले आज एक प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी गराएकी छन्।
उनले एसडीएफ पार्टी अध्यक्षलाई सम्बोधन गर्दै यो निर्णय गहिरो र सावधानीपूर्ण व्यक्तिगत चिन्तन र आत्मान्वेषणपछि लिइएको उल्लेख गरेकी छिन्। सेवाले सिक्किमका जनताको सेवा गर्ने अवसर दिएकोमा एसडीएफ नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले यो राजीनामालाई राजनीतिक राजीनामा ठान्नुपर्ने बताउॅंदै सक्रिय चुनावी राजनीतिबाट पूर्ण रूपमा हट्ने संकेत गरेकी छन्।
उनले भविष्यमा कुनै पनि रूपमा राजनीतिमा नजाने र एक नागरिकको संवैधानिक र प्रजातान्त्रिक मतदान गर्ने अधिकार मात्र प्रयोग गर्ने पनि स्वष्ट गरेकी छन्। उनले वेस्ट पाण्डम निर्वाचन क्षेत्रका मतदाताहरू र पूर्व जिल्लाका जनताप्रति पनि जिला उपाध्यक्षको रूपमा सेवा गर्ने अवसर दिएकोमा हार्दिक धन्यवाद दिएकी छन्।
Leave a comment


