मङ्गन, 18 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारको दृष्टिकोण र निर्देशन अनुरूप पाकसेप, सिंघिक र मानुलका स्थानीय ट्याक्सी चालक संघका सदस्यहरूले सिक्किमको समृद्ध संस्कृति, परम्परा र एकतालाई जोगाउन प्रत्येक बिहीबार परम्परागत पोशाक लगाउने पहल शुरु गरेका छन्। यो कदमले भावी पुस्ताका लागि सिक्किमको सांस्कृतिक पहिचान र मूल्यमान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उनीहरूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
माङ्गनमा आज औपचारिक रूपमा यस पहलको घोषणा गर्न एक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा लाचेन मङ्गन निर्वाचन क्षेत्रका विधायक तथा समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, चालक कल्याण बोर्डका अध्यक्ष सोनाम ओङडुप भोटिया, मङ्गनका आरटीओ टेम्पा रिन्जिङ भोटिया, एमईओ एमएनपी कार्जोङ भोटिया, राज्यस्तरीय चालक संयोजक सोनाम तामाङ आदि उपस्थित थिए।
मन्त्री लेप्चाले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा संघको प्रयासको प्रशंसा गरे। उनले सबैलाई आफ्नो परम्परामा गर्व गर्न, एकता कायम राख्न र भावी पुस्तालाई आफ्नो सांस्कृतिक मूल्यमान्यता हस्तान्तरण गर्न प्रोत्साहित गरे। उनले बलियो र राम्रो समाज निर्माणको लागि संस्कृति, पहिचान र एकता कति महत्त्वपूर्ण छ भन्ने कुरा प्रकाश पारेका थिए।
Leave a comment


