गान्तोक, 22 जून । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जनजाति परिषद्को सभा आज रानीपुलस्थित पार्टीको मुख्य कार्यालयमा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा राज्यका अल्पसंख्यक समुदायहरू कथित विकासको मुख्यधारा पछाडि परेको विषयमा छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा सीएपी अध्यक्ष राईले वर्तमान एसकेएम सरकारमा लोकतन्त्र मृत्युसय्यामा पुगेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने क्षमता केवल सिटिजन एक्सन पार्टी, सिक्किमसँग मात्र रहेको बताए। उनले जनताको सुरक्षा तथा कानुनी शासनको दायित्वसँग सम्झौता गर्दै राज्य पुलिसलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिएको पनि आरोप लगाए। यसले देशभर प्रतिष्ठित मानिने सिक्किम पुलिसको गरिमामा आघात पुगेको उनले बताए।
साथै, राज्यको मेरुदण्डका रूपमा रहेको धारा 371(फ) सँग खेलवाड गर्दै महाराजाको जमिन सत्ता नजिककाहरूलाई प्रदान गरिएको र यसबाट सरकार जनजाति समुदायको हितविपरीत रहेको आरोप पनि उनले लगाए। उनले केन्द्र सरकारद्वारा जनजाति समुदायको शिक्षा, स्वास्थ्य तथा आर्थिक उन्नतिका लागि स्वीकृत गरिएको ट्राबल सब-प्लानको रकमलाई दूध प्रोत्साहन योजनामा रूपान्तरण गरिएको तथा सम्बन्धित लाभग्राहीहरूलाई समेत उचित रूपमा वितरण नगरी दुरुपयोग गरिएको आरोप लगाए।
त्यसैगरी, जनजाति विद्यार्थीहरूलाई उपलब्ध गराइने छात्रवृत्ति नदिइएको तथा जनजाति समुदायको जमिन अन्य समुदायलाई हस्तान्तरण गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै वर्तमान सरकार जनजातिविरोधी रहेको उनले आरोप लगाए। राज्यको विकास तथा भविष्यको सुरक्षा गर्न सक्षम एक मात्र राजनीतिक संगठन सिटिजन एक्सन पार्टी रहेको दाबी गर्दै अध्यक्ष राईले राज्यवासीलाई समयमै र छद्मवेशी राजनीतिक शक्तिहरूलाई चिनेर उचित निर्णय लिन आग्रह गरे।
Leave a comment


